Tuesday, August 28, 2018

गजल
********
सारै मन जम्यो किन यति धेरै,हिउंदको हिउं सरी
मेरो बसन्त छैन वरिपरी, देख्दिन म क्यै गरी

आधा शताब्दी उमेर बिति गयो ,फेर्छु यि सास मात्र म
शरदमा पनि फक्रन नसकेको, रुन्छ यो फूल   बेसरी

खलखलि पसिना आउंछ अति धेरै, पुष माघको जाडोमा
उत्सव ति दशैं तिहारहरु पनि, लाग्छन साउने झरी

मेलाको असंख्य भिड बिच पनि , एक्लै अधुरो हुने
आवाज नआउने मादल बनि सकें , झरिसके छन खरी

घर भित्र रहंदा पनि मन मेरो , भन्छ भिरैमा बसिस
अझै लौ खुट्टा तानि घिसारी , पछारी दिन्छन हरी ।

                          -०-

Thursday, August 23, 2018

गजल
*******
त्यो रावण मरेको, विश्वास गरेको
तर होईन रै छ, अझै   त्यो मरेको

सीता  हरण यहां , अझै  छ जारी
जन्म्यो कि अर्को , उहि हो सरेको

दाईजोको नाउंमा ,सीता पोलिन्छिन
त्यो  अग्नि  परीक्षा , खै  छैन टरेको

शुक्रिव हरु लाई , कांतर म देख्छु
वालिको रबाफ  छैन ,कत्ति झरेको

एक  चोटी लौन , आई  देउ  हे राम
रावण वध एक दिन,पुनः गर्नै परेको
                          -०-

कर्म संपत्ति
*********

        एउटा राजा थिए, जसले आफ्नो जनता मार्फत अनेक प्रकारका कर असुली गरि ठुलो परिमाणमा संपत्ति आर्जन गरेछन । दरवारमा राख्दा गोपनीयता बाहिरिने भयले त्यो सारा संपत्ति जंगलको एउटा गुफालाई शाही खजाना राख्ने स्थलमा परिणत गरि उतै राखेछन । अत्यन्त विश्वासपात्र मानिएका एकजना मन्त्री बाहेक यस कुराको जानकारी कसैले पाएन । सुन, चांदी ,हिरा, मोती  लगायत नगद रुपैया गुफामा राखियो  । गुफाको सांचो भने राजा र तिनै मन्त्रीले एउटा एउटा लिए छन ।
दिनमा कुनै एक समय राजा एक्लै त्यो संपत्ति निरिक्षण गर्न जान्थे । खजाना को थुप्रो देखे पछि उनि आनन्द मान्दै एकछिन बस्थे अनि फर्कन्थे । त्यस दिन पनि राजा गुफामै गयका रहेछन ।
त्यसै दिन गुफा भयको जंगलको बाटो मन्त्री कतै जांदै रहेछ ,उसले रथ बाटै गुफा तिर नजर लगायो ,गुफाको ढोका खुलै थियो । उसलाई लाग्यो "राती खजाना निरिक्षण गरी  फर्कदा सायद ढोका लगाउन बिर्सेछु ।"
उ रथ बाट ओर्लियो , गयर गुफाको ढोका बन्द गरि ताल्चा लगाई फर्कियो ।
         उता राजा पनि  खजाना अवलोकन पछि निकै  संतुष्ट भय , अब आराम पनि पुग्यो , दरवार फर्कन भनि ढोका तिर बढ़े , तर ढोका बन्द पाए । ढोका ढक्ढक्याउन थाले , जंगलमा उनको आवाज सुन्ने  कोही थिएन ,ढोका खुलेन । 
        सांझ सम्म राजा  चिच्याउंदै थिए उनको दुर्भाग्य ! जंगलमा कोही आई पुगेन ।   उनि भोक  र प्यासले थकित थिए । बेला बेलामा खजाना हेर्थे , सुतौं ठाउं पनि छैन , भय पनि निन्द्रा लाग्दैन । अब  के गरौं  उनि संग कुनै समाधान थिएन  । उनि पागल जस्तै भय । हीरा राखेको बाकस लाई हेर्दै भने "  ए दुनियाको सबैभन्दा अमूल्य हीरा !  मलाई  एक गिलास पानी देउ , तिमी संग पानी दिने खुबि छ  ?  यसरीनै मोती,सुन , चांदी , नगद सबै संग पालै पालो यै प्रश्न सोधे । उनलाई लाग्यो मानौं, सबैले उनको उत्तर दिई रहेका छन र भनि रहेका छन " राजा ! तेरो जिन्दगी को सारा कमाईले त एक गिलास पानी र एक छाक खाना  दिन सक्दैन भने हामी त के हौं र ?"
भोक र तिर्खाले आकुल भयका राजा बेहोश भय । केही बेरमा उनको होस खुल्यो , भुईं भरि छरिएर रहेका हिरा मोती सुन चांदी पैसा लाई बिच्छ्यौना सम्झिएर उनि पल्टिए ।
    उनले दुनिया लाई केही सन्देश दिने बिचार गरे , अफशोस ! उनि संग न कलम थियो न कापी नै !
        राजाले ढुंगाले हिर्काएर आफ्नो औंला फुटाए र भित्तामा केही  लेखे ।
केही दिन देखी राजा बेपत्ता भयको खवर डढेलो जस्तै सारा मुलुक भरी फैलियो ।
सेना, पुलिस, प्रशासन लगाएर केही दिन सम्म खोजतलास गरियो ,तर फेला पार्न सकिएन ।
एक दिन मन्त्रीलाई लाग्यो , राजाको पत्तो छैन !  खजानाको बिषयमा म बाहेक कसैलाई थाहा छैन । एक पटक खजाना हेर्नु पर्यो र मौका मिलाएर घरमा ल्याउनु पर्ला !
उ खजाना निरिक्षणका लागी गुफामा पुग्यो ,   उसले देख्यो  राजा हीरा जवाहरातको  बिच्छ्यौनामा मरेका छन , राजाको लाश  कीरा, झिंगाले  खाई रहेका छन ।  राजाले भित्तामा रगतले लेखेका रहेछन "  यतिका संपत्ति छ र पनि यसबाट एक घुंटको पानी पाउन सकिन ।"
        यहीनै अंतिम सच्चाई हो । आखिरी समय साथ चाहिने त "कर्म संपत्ति" नै रहेछ ।
मन्त्रीको पनि बिचार फेरियो , " यो अर्कालाई रुवाएर , ठगेर , लुटेर तथा अनैतिक तरिकाले कमाएको संपत्ति म पनि लान्न " यति विचार आई सके पछि उसले गुफाको ढोका भन्दा बाहिर बाट पर्खाल लगाई दियो । ति राजाको बिषयमा र त्यो संपत्तिको राज बारे कसैले सुईंको सम्म पाउन सकेन । भनिन्छ आज सम्म त्यो गुफाको पर्खाल कसैले खोलेको छैन ।
                                        -०-

Wednesday, August 22, 2018

वानर सेना बन्न आतुर छौं
*********************
रावण मरेको विश्वास लिई
हरेक दिन भ्रममा बांचि रहेछौं
तर रावणहरु जीवितै छन
यहां सीता हरणको क्रम जारी छ
निडर ताड़का र सुपर्णखा याहिं छन
अहिरावण र खर-दूषण हरु
हाते मालो गर्दै हिंडछन
संताप ,पाप र व्यभिचार हरु
हाम्रो संघार छोडदैनन
हरेक क्षण आपत विपतहरु
झुल्कि रहन्छन ,तर्साई रहन्छन
कलुषित विचार भयका हरुको
यत्र- तत्र  हालीमुहालि छ
हरेक दिन सत्य प्रताडित हुन्छ
अनाचार र दुष्कर्मले जरा गाडेका छन
दाईजोको ज्वालाले नव वधूहरु जल्छन
दिनहुं अस्वभाविक मृत्युको चिता जल्छ
धर्ती रुन्छिन रोई रहन्छिन 
खै अचेल त हनुमान पनि  देखिंदैनन
न त यो आकाशमा जटायु नै उंडछन
शुग्रीब हरु लाई कमजोर पारिएको छ
वालिहरुको दादागिरीले पराकाष्ठा नाघ्यो
जामवंत हरु छन तर मुख खोल्दैनन
हे प्रभु  हे राघव हे राम
तिम्रो रामराज्य त रामायणमै सिमित छ
पुन: रावण संग दोस्रो युद्धको खांचो छ
आशा छ तिमी पुनः यस धर्तिमा आउनेछौ
हामी तिम्रो वानर सेना बन्न आतुर छौं ।
               ‌         -०-

Tuesday, August 21, 2018

ईश्वर भक्त :-

एक दिन भगवान श्रीकृष्ण र अर्जुन कतै  घुम फिर का लागी निस्किए । बाटो मा उनिहरुको  भेट एक निर्धन ब्राह्मण संग भयो ।  उसको व्यवहार  अलिक विचित्र खालको देखिन्थ्यो । उ  सुक्खा घांस खाई  रहेको  थियो  भने उसको कम्मरमा ठुलै  तरवार झुण्डिरहेको थियो ।
        अर्जुनले उसलाई सोधे - ब्राह्मण देव !  हजुर त  अहिंसा को पुजारी , जीव हिंसा को भयले सुक्खा घांस खाएर आफ्नो गुजारा गर्नु हुन्छ । तर यो  हिंसा को  उपकरण तरवार किन आफ्नो साथमा राख्नु हुन्छ ?
             ब्राह्मणले  जवाफ दिय - म केहि व्यक्तिहरु दण्डित गर्न चाहन्छु ।
"वास्तमा यहांको  शत्रु चांहि को हो ?" अर्जुनले जिज्ञासा राखे ।
      ब्राह्मणले भने  - म चार जना व्यक्तिहरु लाई   खोजी रहेको छु , फेला पार्ना साथ आफ्नो हिसाब  चुक्ता गर्ने छु । सब भन्दा पहिले त म  नारद को खोजी मा छु ।  जस्ले मेरो प्रभु लाई आराम गर्नै दिंदैनन , सदा भजन-कीर्तन गरी प्रभुलाई जागृत मात्रै गराउंछन । दोश्रो, द्रौपदी संग पनि म क्रोधित छु । उनले मेरो प्रभु लाई  ठीक त्यहि  समय पुकार गरिन, जब प्रभु भोजन गर्दै हुनु हुन्थ्यो । यसरी खांदा खांदैको  खाना छोडेर पांडव लाई दुर्वासा ऋषि को श्राप बाट बचाउन जानु पर्यो । यति मात्रै होईन उनले मेरो भगवान लाई  जूठो  खाना समेत खुवाईन ।
       तपांईको तेश्रो शत्रु को हो ? -अर्जुनले सोधे -  उनि हृदयहीन प्रह्लाद हुन । त्यस निर्दयीले मेरो प्रभु लाई तातो तेल को कराहिमा  प्रविष्ट गराएका थिए , हात्तीको बडेमान खुट्टाले  कुल्चन लगाई अन्तमा  खंबा बाट प्रकट हुन  का लागी  विवश गराए । र चौथा शत्रु हुन  अर्जुन। अर्जुन को दुष्टता सुन्नु हुन्छ ? उनले त  मेरो भगवान लाई आफ्नो  सारथी बनाएरै छाडे । उनलाई  भगवान को असुविधा का बारेमा रत्ति पनि ख्याल भयन । कति  कष्ट भयो होला मेरो प्रभुलाई ।  यति भनि सक्दा ब्राह्मणका आंखा आंसुले भरिएका थिए ।
           यो अद्भुत दृश्य देखे पछि  अर्जुनको  घमंड क्षणमै टुटेर गयो । उनले श्रीकृष्ण संग क्षमा माग्दै भने - मैले मानें  प्रभु, यस संसारमा  न जाने हजुरका  कति प्रकारका भक्तहरु रहेछन । म संझन्थें सबै भन्दा ठूलो भक्त त मैं हुं । वास्तवमा म त केहि पनि होईन रहेछु । 
यता भगवान श्रीकृष्ण भने मुसु मुसु हांसिरहनु भयको थियो ।
                           -०-

हेराई
****
एकजना  साधु घुम्दै जांदा कतै पानी को पंधेरा नजिकै पुगेछन । प्यास मेटाई सके पछि एकैछिन आराम गर्ने विचार आयो र एउटा ढुंगाको सिरानी गरेर उनि छेउमै  पल्टिए । 
पंधेरोमा पानी भर्न आउने हरुको जाने आउने क्रम चलि रहेको थियो ।
पानीको पालो कुर्दै गर्दा एक जनाले भनिन - हेर त संगीहरु त्यो व्यक्ति साधु त भयछ तर सिरानीको मोह भने अझै बांकि रहेछ । ढुंगा कै भयपनि सिरानी चांहि राख्नै पर्ने रे !
आंखा चिम्लिएर पल्टिएको साधुले त्यो सुन्ना साथ सिरानी बनाएको ढुंगा फालि दियो ।
दोश्रो पंधेर्नीले  भनिन् -- साधु भयर पनि रिस  त्याग्न भने सकेको रहेनछ ,उ हाम्रो कुरा सुन्दा रिस उठ्यो अनि फाल्यो ढुंगा ...!
साधु सोच्न लाग्यो अब के गर्ने होला ? कस्तो ठाउंमा आएर आराम गर्न मन लागे छ ?
तेश्रो चांहिको आवाज आयो -
बाबा! यो त सार्वजनिक स्थल हो ,यहां हामी जस्तै अरु पनि आईरहन्छन ,एक एक कुरा भनि रहन्छन । हरेकको कुरा सुन्दै जानु भयो भने के के परिवर्तन गरेर सक्नु हुन्छ ? आफ्नो ध्यान र अन्य कर्म कहिले गर्नु हुन्छ ? 
तर चौथीले भने अंत्यन्त सुन्दर कुरा गरिन -
"क्षमा गर्नुस बाबा , मलाई लाग्छ , तपाईंले सबै कुरा त्याग्नु भयको रहेछ  तर आफ्नो " चित्त" चित्त भने त्याग्न सक्नु भयनछ ।
दुनियाले पाखण्डी भन्छ भने पनि भन्न दिनुस । जसले जे भन्छ भनोस । तपाईं आफ्नो कर्त्तव्य पथ बाट विचलित नहुनु होस ।
सच्चाई नै यहि हो ,दुनिया को त  कामै हो अर्काको विषयमा  टिप्पणी गर्ने ।
माथी तिर हेरेर हिडे अभिमानी भन्छन ।
तल तिर मुन्टो गरेर हिंडे मान्छेको मुखमा हेर्दैन ,भन्छन ।
आंखा बन्द गरि बसे ध्यानको नाटक गर्दछ भन्छन ।
चारै तिर हेर्दै हिंडे नियत माथी नै औंला ठड्याउंछन ।
चिन्ता लागेर एकैछिन झोक्राउने हो भने कर्मको फल पायो ठिक्क भयो भन्छन ।दुनियाले जे जे भन्छ त्यसैको अनुसरण
गर्दै जाने  हो भने, बरु ईश्वर संग साक्षात्कार गर्न सजिलो होला तर दुनिया को चित्त बुझाउन सकिंदैन ।
                          -०-

Saturday, August 18, 2018

मान्छे
*****
मैले निकै  मान्छे देखें,
धेरैको त संगत पनि गरें ,
कसैको शरिरमा वस्त्र थिएन ,
तिनलाई समयले साथ दिएन
कोही वस्त्रले  झकिझकाउ हुन्थे,
तिनीहरु भित्र मान्छे नै थिएन 
कसैलाई  परिस्थितिले साथ दिएन ,
कसैले आफ्नो हैसियत  बुझ्दैन,
कोही  खाली कागज पनि पढ्छन
कोही भने सिंगै किताब बुझ्दैनन
कति त नबोली भाषण गर्दछन
कति भने निन्द्रामा पनि बोली रहन्छन
म यस्तो खोजीमा थिएं
जसको शरिरमा पनि वस्त्र होस
वस्त्र भित्र मान्छे होस
मान्छे भित्र मानवता होस
धेरै हिउंद र वर्षा बिते
खै यस्तो मान्छे कतै पाएईन !
                   -०-

Thursday, August 9, 2018

क्षणिक जीवन
*************
एक जना मान्छेको निधन भयो । उस्को आत्माले देख्यो, हातमा सुटकेश लिएर भगवान उस्कै नजिक आउंदै थिए ।
भगवानले भने "पुत्र हिंड जाऔ अब समय भयो ।"
आश्चर्यचकित हुंदै त्यस मृत व्यक्तिले भन्यो " जाने समय भै सक्यो र प्रभु ?अझै धेरै  काम अधुरा छन। क्षमा गर्नुस प्रभु अहिले नै जाने कुरा नगर्नुस। मेरो उमेर अझै बांकी छ ।
अनि हजुरको यो शुटकेशमा के छ प्रभु ?
भगवानले भने "  तिम्रो सामान छ वत्स !"
मेरो सामान ?  मेरो सारा वस्तुहरु ? मैले जिन्दगी भरि कमाएको धन , दौलत ?" उसले एकै स्वासमा सोध्यो ।
भगवानले  प्रत्युत्तर दिए - यि वस्तुहरु तिम्रा होईनन । यि त पृथ्वी संग सम्बंधित हुन ।
उसले पुनः सोध्यो "  मेरो यादहरु हुन त ?
भगवानले भने   "याद झन तिम्रो आफ्नो कहिले पो थियो र ? त्यो त समयको थियो ।
उसो भय मेरो बुद्धि हो त ?
भगवानले भने "  त्यो पनि तिम्रो कहिल्यै भयन ।  त्यो त परिस्थिति जन्य थियो ।
के  मेरो परिवार र मित्र हरु हुन त ?
भगवानले भने "  क्षमा गर  वत्स ,  ति त झन कहिले पो तिम्रा थिए र ?  तिमीले मेरो परिवार र मित्र भन्ने गरेकाहरु त  यात्रा गर्दा बाटोमा भेटिएका  पथिक हरु थिए ।
 उसो भय  निश्चित पनि यस सुटकेशमा मेरो   शरीर हुनु पर्दछ !
भगवानले  मुस्कुराउंदै भने  --  त्यो तिम्रो थिएन , त्यो त खरानीको थियो ।
 यसमा मेरो आत्मा छ त ?
"अहं त्यो आत्मा त मेरो हो" भगवानले भने ।
भयभीत त्यस मृतक लाई भगवानले सुटकेस  दिएर भन्नु भयो "खोलेर हेर" ।
उसले सुटकेस खोल्यो , भित्र रित्तो थियो , एकदम खाली ।
मृत व्यक्तिका  आँखांमा आंसु आयो , भगवान मेरो भन्ने  केही रहेनछ त ?
भगवानले भने  -- " सत्य यही  हो,
प्रत्येक क्षण  तिमी "जिउंदो" थियौ , त्यो नै तिम्रो आफ्नो थियो । जिन्दगी क्षणिक छ , त्यो क्षण मात्र तिम्रो हो ।
यस कारण जुन समय तिमी संग छ ,त्यस समयको भरपुर उपयोग गर । व्यर्थ मा समय खेर नफाल ।
"खुशी" हुनलाई नबिर्स , यही एक कुरा ले बाचुन्जेल सम्म महत्त्व राख्छ ।
भौतिक वस्तुको लागी  लडाईं, झगडा काटमार , लोभ,पाप  जति गरे पनि आखिर  यहाँ बाट केही पनि लैजानु छैन । जाने त रित्तै हो ।
        ‌                     -०-

लेन-देन
************           
        एक पटक राजाको  दरबारमा  एक जना बुढो गन्दर्भ गीत गाउन गयछन ।
       उनले अत्यन्त मिठो गीत गाए ।
           राजाले खजान्ची लाई भने " केही तोला सुन दिनु ।
      गंधर्वले झनै मिठो र सुमधुर गीत गाए ।
           राजाले फेरी भने  हीरा, जवाहरात घरमा गयर हातमै राखी दिनु ।
        गन्दर्भ बाट गीत अझै मिठो गाईयो ।
          राजाले भने " यिन लाई  पांच हजार थान असर्फि  पनि दिनु ।
राजाको पटक पटकको घोषणाले गन्दर्भ निकै उत्साहित भय ।
यस पटक भने  गन्दर्भले गायको गीत यति लोकप्रिय भयो , त्यो ऐतिहासिक सावित भयो ।
       राजाले कल्पना पनि नगरेको गीत सुनेर उनि औधि प्रसन्न भय। उनले खजान्ची लाई  आदेश दिय "गन्दर्भलाई घरजग्गा पनि दिनु ।"
 गन्दर्भ गीत गाई सकेर निकै खुशी हुंदै घर गय ।
       उनले गीत गायको पारिश्रमिक ल्याय पछि  भात पकाउंला भनेर प्रतिक्षा गरिरहेकी अर्द्धांगिनी ले भनिन " खै त गीत सुनाउन दरवार गयको होईन के भयो ?
गन्दर्भ ले भने " गीत सुनेर राजा निकै प्रसन्न होईबक्स्यो ,  निकै ईनाम पाएको छु ,हिरा , जवाहरात,सुन,घर जग्गा, असर्फि सबै पाईयो  ।
आज भोकै रहनु परे पनि यति धेरै ईनाम पाएकाले त्यो परिवार भोक बिर्संदै , खुशी साथ सुत्न गय ।
    केही महिना बित्यो , गन्दर्भले पाएको भनिएको ईनाम आई पुग्ने कुनै संकेत सम्म  देखिएन ।   
         एक दिन गन्दर्भ दरवारमा गय र भने।
       " महाराज ! हजुरले दिएको ईनाम आज सम्म  पाईन !!!"
 राजाले भने " गन्दर्भ बा ! यो त लेन-देन को कुरा पो त !
         तपाईंले मेरो कान लाई  खुशी बनाउनु भयो 
           र
           मैले  तपाईंको  कान लाई  खुशी बनाएं ।  बराबर भयन र ??? "
                   ‌‌                    ‌-०-

बेरोजगार
********
प्रधानमंत्री जनताको गुनासो सुन्दै थिए -
प्रधानमंत्री  :  कति बच्चा छन ?
जनता : चार जना छोरा  !
प्रधानमंत्री : के के गर्दै छन ?
जनता : जेठोले एम.बि.ए पास गर्यो ,
माहिलोले  एम.एड , सांहिलो  एम.ए पास
र कान्छो चोरी गर्छ  !
प्रधानमंत्री :  त्यसो भय कान्छोलाई  घर बाट  निकाल्दिनुस  ।
व्यक्ति :- कसरी  निकाल्न सक्छु ? उसैले त  कमायर परिवार पाल्छ, राज्यलाई तिर्नु पर्ने करको पैसा  दिन्छ । अरु त  सबै बेरोजगार छन  ।
प्रधानमन्त्री : !!!
                            -०-

Friday, August 3, 2018

भोक र भुत
*********
    बाउ साहुकोमा काम गर्न जान्थे , कडा मेहनत  गरे पनि  पारिश्रमिक भने बर्षमा एकैचोटी अर्थात मंसिरमा धानको दाईं गरे पछि मात्रै पाईन्थ्यो । समय समयमा सापटी लिने हो भने मंसिरमा पाईने धानमा कट्टी गर्ने भयकोले  बा ले सर-सापट कहिले लिदैन थिए । संचो भयको दिन आमा निमेक गर्न गईन भने त्यो सांझ पेट भरि खाईन्थ्यो , अन्यथा भोक र हामी संगै हुन्थ्यौं । लाग्थ्यो भोक भनेको हाम्रो छायां हो , हामी जहां हुन्छौं त्यहां भोक हुन्छ ।
        एक दिन बिरामी भै ओच्छ्यान परेकी आमा संग मैले भने " आमा ! असाध्य भोक लागेको छ । " 
आमा बोलिनन , जाउलो पकाउने गरेको किटको रित्तो कराही देखाईन मात्र । मेरो केटा केटी दिमागले पनि बुझ्यो , "आज पनि घरमा खाने अन्नको गेडो छैन ।"
मेरो भोक तिब्र गतिमा बढन थाल्यो । फनफनि रिंगटा लागेर आंखा धमिलो भयर आयो ।
         धनि मान्छेहरु आफ्नो बच्चालाई भुत प्रेत बाट जोगाउन हाम्रै घर छेउको दोबाटोमा प्राय : आईतबार, मंगलवारको मध्यान्हमा  केही मन्साएर जाने गर्दथे । संजोग ले आज मंगलवार रहेछ, दोवाटोमा जान मैले ढिला गरिन । मेरो भाग्यले त्यसदिन त्यहां भण्टाको पातले बने को ठुलो टपरीमा केही भात , तरकारी र एउटा सिंगों नरिवल समेत फेला पारें । भोक शान्त पार्न मैले त्यहिं बसेर केही भात कपाकप खाई , बांकी आमाको लागी लिएर घर तर्फ लागें ।  ओईलाएको मेरो अनुहार एकाएक चम्किएको अनुभव गरें ।
"होईन भोकले पनि अनुहार उज्यालो हुन्छ कि के हो ?  " आमाले अचम्म मान्दै मेरो अनुहारमा एक टकले हेरिन ।
 मैले खाएर उब्रेको आधि भातको टपरी आमाको पोल्टामा राखिदिएं । आमालाई केही भन्नै परेन , उनले आफैं कुरो बुझिन ।
 उनको आंखामा पलाएको आंशुको मुल , दुबै  आंखाले समेत थेग्न सकेन ,डिलबाट बग्न थाल्यो । उनको मैलो धोतीको फेरले मेरो टाउको बाट धुलो झारेझैं गरिन । सशंकित नजरले मलाई हेरि रहिन । अनि लामो स्वास फेर्दै , थर-थर ओठ कमाउंदै भनिन - " भोक भन्दा ठुलो भुत होला र ?
                             -०-

Thursday, August 2, 2018

भोजन र मन
***********
शहरको चर्चित चामल व्यापारीको एउटा चोर संग साँठ-गाँठ भयछ । चोरले , चामल चोरेर ल्याउंथ्यो आधा मूल्यमा व्यापारीलाई दिन्थ्यो , त्यस बेला देखि उसको आम्दानि उल्लेख्य रुपमा बढन थाल्यो ।
एक दिन उसलाई लाग्यो , पापको कमाईले परत्र बिग्रन्छ भन्छन , केही त गर्नै पर्ने भो !  यस्तै मनमा सोचि पाप पखाल्ने विचार गरेछ त्यस व्यापारीले ।
एक दिन उसले मार्सी चामलको खीर  बनाएर मन्दिरका दुई जना नाम चलेका साधु बाबाहरु लाई भोजनको निमित्त आमंत्रण गर्यो ।
साधु बाबाहरुले  चामलको खीर अत्यंत मिठो मानेर खाय । खाने र खुवाउने दुवै थरि सन्तुष्ट भय ।
  व्यापारीले भन्यो  "महाराज ! हजुर हरु केही बेर आराम गरिबक्स्योस बाहिर गर्मी छ । "
साधु बाबा हरुले प्रस्ताव स्वीकार नगर्ने कुरै भयन , किन कि बाहिर प्रचण्ड घाम थियो ।
बाबा हरु लचकदार बिच्छ्यौनामा पल्टिए , मिठो निन्द्रा लाग्यो । केही बेरमा चामल व्यापारीले  १००-१०० रूपैंयाका  १० लाख  रकमको बिटा लिएर आई सोही कोठाको टेवुलमा राख्यो र च्यादरले छोपि आफूं पनि आराम गर्न भनि अर्कै कोठा तर्फ लाग्यो ।
एकजना साधु बिउंझिए , टेबुलको च्यादरमा आंखा पर्यो । पल्टाएर हेर्दा धेरै नोटका बिटा देखियो । मनमा लाग्यो , यति धेरै बिटामा एउटा लैजांदा कस्ले पो थाहा पाउला  र ? एउटा बिटो उठाएर धोतीमा  गांठो बांधि पुनः उनले निदाएको बहाना गरे । केही बेरमा दोस्रो साधु बिउंझिए , उनले पनि त्यसरीनै एउटा बिटो लुकाए ।
सांझ पख जाने समय  व्यापारीलाई आशीर्वाद दिएर उनिहरु फर्के ।
भोली पल्ट उसले पैसा गन्ति गर्न थाल्यो , दुई वटा बिटा कमी देखियो ।
उसले बिचार गर्यो , साधु  महात्मा बाट यस्तो  घृणित काम हुनै सक्दैन । घरको नोकर लाई गधालाई जस्तै चुटियो ।
ठिक त्यसै बेला साधुहरु आई पुगे , " यस लाई न चुट्नोस , एक एक वटा बिटा हामीले लगेका थियौं "। उनिहरुले रकम फिर्ता गर्दै भने ।
साहु आश्चर्य चकित भय ! तपाईंहरु नोकर लाई बचाउन यो भन्दै हुनु हुन्छ  हो ?
"कुरो त्यस्तो होईन मित्र ! वास्तव मा यहां को पैसा हामीले नै चोरेका थियौं ! "
बरु सांचो भन्नुस सेठजी ,  ..हिजो हामीलाई किन र कस्तो खिर  खुवाउनु भयो ? "
व्यापारीले वास्तविकता लुकाउन चाहेनन । चोर संग आधा मुल्यमा खरिद गरेको चामलको पाप लुकाउन यहांहरु लाई खिर खुवाएको हुं ,उसले स्पष्ट कुरा राख्यो
"चोरीको  चामलको  खीर थियो र पो यसैले  हाम्रो मनमा पनि चोरीको भाव उत्पन्न भयो । बिहान जब पेट खाली भयो , तपाईंको  खीरको तुष समेत सकियो ।  यसरी पेट सफा हुना साथ हाम्रो बुद्धि समेत  शुद्ध भयो । यसैले यो पैसा फिर्ता ल्यायौं । साधुहरुले भने ।
'हे राम.... यसरी कसैको घरको  चोरीको खाना कसैको पनि पेटमा नपरोस । " मनमा तत्काल पाप उत्पन्न  हुन्छ । "
त्यसैले भनिन्छ - 
जस्तो खायो अन्न ... त्यस्तै हुन्छ  मन ।
जस्तो पियो  पानी .... त्यस्तै हुन्छ वाणी ।
जस्तो शुद्धी.... त्यस्तै  बुद्धी ।
                           -०-