डाक्टर र म
**********
उस्तै गाउंमा ,
उस्तै ठाउंमा ,
जन्मिएको पो त ।
उस्तै स्कूलमा ,
अक्षर चिनेको ।
वर्णमाला किताव एउटै,
सरस्वतिको तस्विर वाला ।
त्यो पनि थांग्नु ,
दाजुले सांवा अक्षर चिनेर ,
चिल्थो बनाएको ।
तर,
उसको र मेरो,
भाषा फरक भयो ।
म आग्रह गर्छु ,
उ आदेश दिन्छ ।
म आशा खोज्छु ,
उ निराशा दिन्छ ।
तर उसको आदेश,
म सजिलै बुझ्दिन।
र बुझ्न चाहन्न पनि ।
उसको विज्ञानको भाषा ।
मेरो जीवनको भाषा ।
सायद लिपिहरु छुट्टै ,
हुनु पर्दछ ।
मेरो रोगको बिषयमा ,
उसलाई म केही भन्दिन ।
किन कि ,
उ जीवनको भाषा बुझ्दैन ।
म बिज्ञानको भाषा बुझ्दिन ।
तर उ चतुर छ ,
मेरो रोगको गहिराई देख्छ ।
झांक्रीले शरिर भित्रको,
बोक्सी लाई देखे जस्तै ।
मलाई मृत्यु संग डर लाग्छ ,
उ भने म बांच्दा डराउंछ ।
उसले भन्छ ,
म संजोगले बांचें भने ,
पुनः मर्नेछु ,
औषधिको अभावले ।
पैसाको अनिकालले ।
र मान्छेको तिरस्कारले ।
लाग्दछ ,
उसको र मेरो ,
आंखा पनि फरक छ ।
उसले अनगिन्ति ,
मृत्यु देख्यो ।
सायद म भित्रको
मृत्यु पनि देख्दै छ ।
तर मैले मृत्यु देख्दिन ।
अंह पटक्कै देख्दिन ।
म देख्छु ,
मात्र डाक्टर ।
उसको सेतो कोट ।
निला राता साना ठूला ,
क्याप्सुल र चक्कीहरु ।
उसको स्टेथेस्कोप ।
अर्थात मेरो सारा ,
भरोषाको केन्द्रबिन्दु ।
उसको र मेरो ,
समय पनि मिल्दैन ,
उ भेट्ना साथ छुट्टिने भन्छ,
म छुट्टिए पछि पनि ,
भेटौं भन्छु ।
उ समय छैन भन्छ ,
म संग समय मात्र छ ।
म संग मैं मात्र छु ,
उ संग म जस्ता धेरै छन ।
यथार्थमा ,
डाक्टर र म विच ,
निकै भिन्नता छ ।
भू-लोक र देव लोक जस्तै ।
नेता र जनता जस्तै ।
-०-