Tuesday, March 17, 2020

मझिन्थोक र बुढो सिमल :-

मझिन्थोकको बिचरा बुढो सिमल
सदियौं देखीको एेतिहासिक साक्षी
अनगिन्ती जन्म र मृत्युको प्रत्यक्षदर्शी
सिंगै मझिन्थोक र आसपासको रक्षार्थ
न्यौपाने चौताराको छेडबाट आरुपोखरी
फलामे फांटको  क्षितिज बाट धावासम्म
हरेक दिन निगरानी जारी राख्यो
यतिमै निगरानी सिमित राखेन
थानीमाई हुंदै गोरखाली चौतारा सम्म
दैनिक सुसाउदै जान्थ्यो
सल्यानटार र आरुघाट समेत निरिक्षण गरि
पुनः सिमल फेदमै अड्डा जमाउथ्यो
उसले देख्यो कांधमा हलो बोकेको
झोलामा खाजा र डोकोमा बिउ बोकेको
सिमलचौरमा रोपार नाचेको
नारायण पुजामा भजन भट्याएको
उसले देख्यो नांगे डांडा मा गाई बाख्रा चरेको
टारी फांट र कटुन्जेमा धानका बाला झुलेको
उसकै आंगन कुल्चिएर मलामी दगुर्दा
पंचैबाजाको तालमा झ्याउरे घन्किंदा
उसले कहिल्यै प्रतिवाद गरेन
न बन्धु बान्धवको झगडामा हस्तक्षेप गर्यो
न छिमेकीको मेल-मिलाप मा अवरोध नै
मैदानको पसलमा चिया फेटेको
चियाका शिकारु र पारखीको चिया गफ
उसलाई साच्चै नै आश्चर्य लाग्थ्यो
गृहिणीहरु लाई घर जिम्मा लगाई
चौतारामा सामेल हुने पंचभलाद्मी सभा
उसको  चित्त नबुझाईको बिषय थियो
संस्कृत पाठशालामा गुन्जने वेदध्वनि
श्रवण गर्दा गर्दा उसलाई मुखाग्र आउंथ्यो
कुवापानी चिसापानी र लांकुरी पंधेरो
उसको नजरमा संधै अग्रस्थानमा पर्थे
त्यहांको तंछाडमछाड र गफका शैली
उसलाई पुर्ण मनोरंजक सिनेमा झैं लाग्थ्यो
देश काल परिस्थिति संगै
उसकै कांध पाखुरीमा हुर्किएका नवयुवा
जनयुध्दमा होमिएको पनि हेरिरह्यो
ताकुकोट घटननाका बग्रेल्ति लाशहरु
मुकदर्शक बनेर गन्ती गर्यो
धेरै सेना पुलिस र प्रशासक
अनगिन्ति शिक्षक र कर्मचारी
तान्द्रांगका गहना हुन भनेर गर्व गर्यो
उ  देख्दै गयो, उ  हेर्दै गयो
तान्द्रांगीं माटोको सुगन्ध छोडेर
पलायन भयका संग उसको गुनासो हुन्थ्यो
उसले राजधानीमा घर घडेरी जोडन चाहेन
कुम्लो कुटुरो बोकि मधेस झर्न चाहेन
जापान युरोप अमेरिका र कोरिया  त के
उसले खाडि हानिएको पनि देख्न सकेन
जन्ति मलामि  स्कुले विद्यार्थी कुदाउने छात्ती
दुई र चारपांग्रे कुदाउंदा पनि ढाक्न खोजेन
तर
कोदोका बाला फक्रने पाखोबारी र
धान झुल्ने मनोरम फांटहरु रित्तै देख्दा भने
उसलाई हुन सम्मको छटपटि हुन्थ्यो
 महर्षि दुल्लभको धरोहर सुनसान हुंदा
मन कट्क्क खाएको पिडा पोख्थ्यो
उसको एउटै आशा थियो,सबै संग
"सबै मिलि कर्म गर , स्वर्ग जस्तै गांउ बनाउ"
तर
सोचे जस्तो कहां हुन्थ्यो
जन्मभूमिको उपेक्षा उसलाई चसक्क दु:ख्यो
सदिऔंको प्यारो भुमी बिरानो लाग्यो
अनन्त पिड़ाले  होला सायद
एउटा कठोर निर्णय लिन बाध्य भयो
 सुनसान रात गाउं मस्त निदाएको मौकामा
बुढो सिमल सदाका लागी विदा भयो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home