Wednesday, March 28, 2018

गजल :-
**************

नारी कै अनुग्रह ले त पाईयो, यो धर्तीमा टेक्न लाई
संसारै भरिका बिचित्र थरिका, यि सिर्जना देख्न लाई

जन्माई  हुर्काउने  पनि  तिनी ,  बोल्न सिकाउने  पनि
नारी को महिमा प्रसस्ति गाउन, खै पुगेको लेख्न लाई

जीवन को अधिकांश  समय , साथ दिने  साथी ति  हुन
आईपुग्छिन जव मृत्यु घुम्दछ वरिपरी, बुझेर त्यो  छेक्न लाई

शिक्षक हुन घर कि बिरामी जतिका, डाक्टर पनि हुन तिनी
पुग्छिन नाम्लो  लिएर खेतमा, ज्यामी भै  घांस  खेप्न लाई

दुर्गा  सावित्री लक्ष्मी पनि  तिनी, हुन  उग्रचण्डि  पनि
पुजा होईन विश्वास गरिदिनु, घर स्वर्ग रुप देख्न लाई

                                          कालिका ६ जमुनापुर
                                                     चितवन

                          -०-

Tuesday, March 27, 2018

गजल :-
************

डढेलो लागेको बनमा,जनावर चर्न जान्छ र
ओरालो लागेको संग ,संगत गर्न को मान्छ र

नफलेको रुखमा फल ,टिपेर कसरी  खाला
मुलै सुकेको धारामा, पानी थापी को खान्छ र

द्रव्यहिन लाई गणिकाको,ढोका बन्द भय सरि
यत्रतत्र निषेध हुन्छ ,कसले पो आफ्नो ठान्छ र

दुनियां सब स्वार्थि छ,दुनो आफ्नो सोझ्याउंछ
मरि जानुत निश्चित छ ,मर्दा कस्ले के लान्छ र

धनको मदमा मान्छे ,तुजुक् आफ्नो देखाउंछ
धर्मराज धनि निर्धन ,जांचेर कहिले  तान्छ  र
                             
                                कालिका -६ चितवन
                                    १३ चैत्र २०७४
                            -०-

Sunday, March 25, 2018

गजल :-
*************
आफ्नै संग हिंडौ भन्थें,झन धेरै झेल पो भयो
जिन्दगी  जुवाडेको, तासको  खेल  पो  भयो

लक्षमा पुग्ने ति आशा, विचमै ओईलाई गयो
गन्तव्य न पुग्दै  लड़ने ,जिन्दगी रेल पो भयो

शान्त सागरमा  पुग्न ,नदिको सहारा  लिएं
जिन्दगी साउनै मासको, उर्लेको भेल पो भयो

सांचो  बोलौ त आफ्नैले , चित्त धेरै  दुःखाउने
झुटो बोलौं यो जिन्दगी, मिसावट तेल पो भयो

यात्रा  सहज   बनाउने,  ईच्छा  अधुरै   रह्यो
लक्ष्य टुटेको यात्रा यो, तिहारको सेल पो भयो
                             -०-

गजल :-

तिम्रो  पैसाले  मृत्यु ,  देखाउ  रोक्न  सक्छ  कि
भुईंचालो गडगडाउंदा, रत्तिभर छेक्न सक्छ कि

माया किनेर देखाउ , आफ्नै सर्जक पाईन्छ  कि
त्यै पापी पैसाले यहां ,भ्रष्टाचार मेट्न सक्छ कि

मानवता त त्यस्तै हो , बरु  मान्छे  किनिएला
थैला भरिका पैसाले , ईश्वरलाई भेट्न सक्छ कि

बजार मा शान त किन्लाउ ,सम्मान पाउने    के गरी
पैसा ले बुद्धि र विद्या , विवेक किन्न सक्छ कि

भक्ति किनेर देखाउ , मुक्ति किन्छौ कसो गरी
पैसा ले पाप र धर्म , तुलोमा जोख्न सक्छ कि
                               -कालिका ६ चितवन
                          -०-

Friday, March 16, 2018

पापि नजर :-

कस्को नजर लागेर हो कुन्नि ?
यो पुर्वज हरु को अमुल्य निधि
रुपै कुरुप हुने गरि बदलिएको छ
पवित्र रिति-रिवाज र संस्कार लाई
मात्र खोपिमा थन्क्याईएको छ
पराई को आयातित संस्कार लाई
संम्भ्रान्त पन जांच्ने कसि बनाईए को छ
संपूर्ण क्षेत्रमा वेथितिले पराकाष्ठा नाघेको छ
कविका कलम र कविता हरु पनि अचेल
शितल मल्हमको सट्टा तेजाव बनिरहेका छन
घाउ पुरिएलान भन्दा उल्टै गहिर्याई दिन्छन
नेताहरु का काईते र सस्ता भाषणले त
आनन्ददायक मधुरो शितलता भन्दा पनि
फोका उठ्ने गरि जलन गराई रहेछन
जनता लाई सुसुचित गर्ने कलमहरु
दलहरुको दलदलमा निप दोब्र्याई रहेछन
राज्यको नुन खाएको  गुन बिर्सने हरु
घुन बनेर सुन थुपार्ने अभियान मा छन
चन्द्र छुने अभिलाषा बोकेका कलिला हातहरु
दलका झण्डामा चन्द्र खोजी रहेका भेटिन्छन
पाठशालामा नैतिक शिक्षा सिकाउने ओठहरु अचेल
दलकै भक्तिगान सिकाउन तल्लिन देखिन्छन
जन्ति र मलामीले ढाक्ने डांडाका गोरेटोहरु
स्यालको खर्कमा परिणत गराईयका छन
साठि कटेका अधिकांश माता पिताहरु
घर रुंग्ने पालेमा रुपान्तरित भै सकेका छन
"अतिथि देवो भव: "एकादेशको कथा बनेको छ
"बसुधैव कुटुम्बकम्"शास्त्रका पानामा सिमित छ
अब त चिम्लि  देउ तिम्रा ति पापि नजर  हरु
मेरो पुर्खाको धरोहर सुधार गर्ने अझै समय बांकि छ ।
                             -०-
कालिका ६
चितवन ।

Thursday, March 15, 2018

गजल 
*********
(गोरखा)
मनाश्लु  नामको  टोपी,  लगाई  हांस्छ  गोरखा
पालुंगटार काखमा राखी,खुशीले नाच्छ गोरखा 

पृथ्वीको शानले बांच्यो ,गोरखकाली को मानले 
भिमसेन थापा गजे लखन ,जन्माउने मेरो गोरखा

हिमाल  पहाड़ तराईका , हावा पानी  सबै यहां
सिंगो  नेपाल अटाउने ,गजव छ  मेरो  गोरखा

                                                  तान्द्रांगकोट आरुकोट लिगलिग ,अरु पनि कति कति
    आरुघाट आंपपिपल बार्पाक  सुखी छ  मेरो गोरखा

गोरखा कै नामले सारा, संसारमा गोरखाली भनि
चिन्यो  विश्वले  नेपाल ,  गर्व  गर्छ  मेरो  गोरखा 
    -०-


Sunday, March 11, 2018

गुप्त सहयोग :-

दुई दाजु भाई थिए ।
एक आपसमा अत्यन्त स्नेह थियो ।
खेत बारी अंस बंडा भयपनि एकै ठाउंमा रहेछ ।
दाजुको विहे भै सकेको थियो । भाई एक्लो,  घरजम भयको थिएन ।
 यस बर्ष मौसम निकै राम्रो भयो । रोग किराले दु:ख दिएन । खेत मा धान सोचे भन्दा राम्रो र धेरै फल्यो ।
धान थन्क्याउने दिन आयो , दगेंरे हरु ले धान झांट्ने काम सके , खलेगह्रामा  दाजु भाई कै रहर लाग्दा ठुला-ठुला धानका रास देखिए ।
कान्छा! म भात खान घर जान्छु , यसो धानको रास हेर्दै गर्नु है । यति भनेर दाजु घर तिर लाग्यो ।
दाजु घर तिर लाग्नासाथ भाईले बिचार गर्यो ,
यस पटक वाली ज्यादै राम्रो भयो , म एक्लो मान्छे आवश्यकता भन्दा धेरै धान के गर्नु ? दाई को त परिवार छन , केटाकेटी भयको घरमा मेरो भन्दा खर्च यसै बढी हुन्छ । 
यस्तै बिचार मनमा आयपछि आफ्नो थुप्रो बाट दश बोरा धान दाजुको थुप्रोमा लगेर थपिदियो ।
दाजु आए पछि भात खान जाने पालो भाईको आयो ।
दाजु चाहिंले धान हेर्दै मन मनै भन्यो मेरो गृहस्थ त राम्रै चलेको छ , भाईको बिहे पनि भयको छैन , यसै बर्ष बिहे गरे खर्च बढीनै लाग्छ , त्यसको अरु आम्दानी पो के छ र ? 
दश बोरा धान दाजुले पनि भाईको थुप्रामा लगेर मिसाई दियो ।
आखिर अन्न दुबैको घटि बढी भने भयन । तर दुबै दाजु भाई को हृदय भने हर्षले गदगद थियो , एक अर्कालाई गुप्त सहयोग गर्न पाएकोमा ।
                           -०-

Wednesday, March 7, 2018

                      गजल
***********

जिन्दगी असिना पानी परेको कर्कलो भयो
पिडा  पोखियो  पानामा  मनै हलुको भयो

मृत्यु को द्वारमा पुग्दा द्वारपाले अचम्मै भयो
अझै बांकि  छ  तेरो त भन्दै  द्वार ढेपि गयो

असफल त्यहि यात्राले फुरायो अक्षरका गेडा
तिनै  अक्षरका गेडा  चक्कि को  सितनै भयो

भोक बेचेर  जोडेको चक्की क्याप्सुलले सदा
गिज्याई  रहंदा  जिउंदै  मरे  तुल्य सरी  भयो

"सुधा" को छहारीमा  लुसुक्क छिरेको देखि
छाड्यो गिज्याउन  त्यसले  बल्ल  तनावै गयो  
                            -०-

Tuesday, March 6, 2018

गजल
**********

द्वापर युग देखि युद्ध , कहिले रोकिएन
शकुनि दुसासनहरु ,  कहिले छेकिएन

विदुरहरु गतिछाडा ,  दुर्योधन कै छायां
अभिमन्यु घेरा परे ,  आसन फेरिएन

वाण चलाउने अर्जुन छैनन,चिरफार गर्ने शल्य
युधिष्ठिर जस्तै अहिले , एउटै   देखिएन

उ बेलामा कौरव पाण्डव ,भिन्न थियो स्वभाव
अचेल सबै कौरव जस्तै ,दुर्भाव फ्याकिएन

पटक  पटक  द्रौपदीको , चीरहरण  हुन्छ
पुनः सजग भै देउ कृष्ण , अन्त्य लेखिएन
                            -०-

      गजल
*********
हे   कृष्ण !    तिम्रो  गीता  कहन्छ
शरिर   मर्छ  तर  आत्मा    रहन्छ

तर  यो आत्मा  मरेको   धेरै  भो
न  शरिर मर्छ , न गरिबी सहन्छ

भाई  बन्धु  संग  लड़न  सिकायौ
तर  भाई  बन्धु  लड़ाई    रहन्छ

अन्याय बढ्दा आउंछु म  भन्थ्यौ
तर    ढांटी   दियौ आंसु   बहन्छ

कि  फेरी  लेख  भिन्दै  त्यो  गीता
अब यो चिरञ्जीबी  कति  सहन्छ ?
                    -०-



Monday, March 5, 2018

गजल
************
यता त हाकिमै थियो उ गयो  म्लेच्छ देशमा 
त्यै खुशीमा रातो पोत्यो तिल चामले केशमा

आमाको हातको जाउलो खाइ बाल्यकालमा
गाउंकै पाठशाला जान्थ्यो सुरुवाल दौराको भेषमा 

कलिलैमा  गर्यो विहे भांडा माझ्ने उनै थिईन
पाटे अल्छी थियो उ त जांगर थिएन फेसमा

समयले कोल्टे फेर्यो पढेर हाकिमै भयो 
कसो गरी माझ्ला भांडा खैरे को सुखी देशमा

आखिरमा घरबार त्यागी उतै बस्ने निधो गर्यो
वृद्ध सर्जक  रुवाएर भाग लियो डलर रेशमा 
                             -०-




Sunday, March 4, 2018

                   



                    गजल
            ************
पहिले जन्मन जानेन हजुर बा बन्न खोज्छ उ
लब्धांक लिएकै भरमा अग्रजलाई  घोच्छ उ

आदरणिय पुजनिय र ढोगनिय भेद जानेन
पुर्वज भेषलाई छाडी अरुकै पतलुन रोज्छ उ

नैतिक शिक्षा पढेकै छैन नैतिकता सुनाउंछ
संध्या गर्ने बेला आउदा मद्यपान त्यो घिच्छ उ

धर्म कर्म उ गन्दैन  निकै सभ्य भैयो भनि
अब त  ठुलै भैयो एकोहोरो मात्र सोच्छ उ

गुन्यु कुना तिर फालि उनलाई कट्टु भिराउंछ
पढेको मुर्ख पो भो त पुर्खा लाई हिलो पोत्छ उ
                               -०-

आशिर्वाद **************** घर को सबै काम काज सके पछि उनि कार्यालय जान भनेर निस्किएकी मात्र थिईन बृद्ध ससुरा कराउन थाले , बुहारी लौन ! मेरो चश्मा सफा गरिदेउन । फर्किएर चश्मा दानिको नरम कपड़ा झिकेर चश्मा पुछपाछ पारि सकेर ससुरा लाई चश्मा दिईन । यसै कारण आज पनि कार्यालय पुग्न ढिला भयो । हरेक दिन को चश्मा धन्दाले कार्यालय पुग्न ढिलो हुन थाले पछि श्रीमानको सल्लाह अनुसार आजदेखि चश्मा पुछ्ने कार्य बिहानै गर्न थालिन उनले । सदा झैं आज पनि घरबाट निस्कना साथ पुनः ससुरा को आवाज आयो , बुहारी यता आउ त ! तर आज उनले बृध्द ससुराको आवाज सुनेको नसुन्यै गरिन । क्रमस: यसरी नै दिन हरु वित्दै गय । दशैं विदाको लामो छुट्टी आयो , उनि घरको सर-सफाई मा लागिन । ससुरा बा को पुस्तक राख्ने दराजमा माकुराको जालो ढपक्कै ढाकिएको थियो । जालो पन्छाउदै गर्दा धमिलो शिशा बाट भित्रको मोटो डायरी देखि यो , बुढाको दैनिक डायरी रहेछ । उनि पढदै गयिन , एउटा पन्नामा लेखिएको थियो - " कति व्यस्त हुन थाल्यो मान्छेको जिन्दगी ,घरबाट काममा जांदा समेत बच्चाहरुले , मान्यजनको आशिर्वाद लिन समेत बिर्सन थाले । चश्मा सफा गरि फिर्ता गर्न मेरी बुहारी निहुरिन्थिन , बस त्यै मौकामा शिरमा हात राखी आशिर्वाद दिने गरेको मेरो नियमित क्रम , भंग भयो आज बाट । यसैले बुहारी ! आज बाट मन मनै मात्र आशिर्वाद छ है मेरो , तिमिलाई जिवन भरी मेरो आशिर्वाद रहि रहोस ।" बुढा बितेको पनि दुई बर्ष पुगेछ । अचेल उनि कार्यालय जानु अघि ससुराले लगाउने गरेको चश्मा राम्ररी पुछि दिएर टेबुल मा राखि दिन्छिन , मरि सकेका ससुराको नदेखिएको हातको आशिर्वाद पाउने आशमा ।

Thursday, March 1, 2018

               

            गजल :-

      गाउं बेशि उकालिमा , केहि हण्डर पाए पछि
      शहर लाई स्वर्ग ठानी , गाडि चढन आए पछि
      शहरिया भयौं भनि ,खुब धाक जमाउंथ्यो
      अब बल्ल खुले आंखा धुवां धुलो खाए पछि
      हप्ताको दुई दिन मात्र, थोपा थोपा पानी भरी
      मन रम्थ्यो यताभन्दा, ढुंगेधारा धाए पछि
      भात पकाउदै गर्दा, धिपिक्क ग्यांसको चुलो
       गाउंमै ढुक्क कटेरामा, दाउरा टन्न पाए पछि
       साझा छानो मुनि बस्छ , मरिजाम चिनजान भय ?
       उतै दिल खुशी हुन्थ्यो,गाउंनै आफ्नो पाए पछि
                               -०-