Thursday, May 17, 2018

गजल
*********
सुख आएन कहिले नि दुःख मात्र सधैं भरी
बांकि जीवन बिताउन जे गर्छौ गरिदेउ हरी

बाह्र बर्ष यता आउने ठुलो खुशी कठै  बरा
त्यो सानो डरले थिच्छ जोगाउने कसो गरी

चोट पराईको भन्दा आफन्तका अझै  कडा
त्यै पिडा संझना आउंछ घुमि फिरी घरि घरी

सहजै बित्यो बालापन युवावस्था कहां गयो
गाह्रो भो  प्रौढावस्था  गृहस्थी  भारमा  परी

थाकि  सकियो यात्रामा बृद्ध पन न  आउंदै
प्रभु  शरणमा आउने छु यो भवसागर  तरी
                          -०-

Tuesday, May 15, 2018

भगवान भरोसा
***************
    उ बजारमा  फल-फूल किन्न गयो । त्यहां ठेलामा एउटा सानो बोर्ड झुण्ड्याईएको थियो । केही मोटो अक्षरमा लेखिएको रहेछ .......
" घरमा कोही पनि छैन , मेरी बुढी आमा बिरामी छन ,उन लाई पानी,खाना र औषधि  खुवाउन घर गयको छु । हजुर लाई ढिला होला जस्तो लागे चाहिए को फल-फूल तौलनु होला , मुल्य सूची त्यांहि छ , पैसा चांही कन्तुरमा राखी दीनु होला , कन्तुर खुलै छ । धन्यवाद!!"
पैसा छैन भने मेरो तर्फबाट केही फल-फूल लैजान सक्नु हुनेछ , असजिलो नमान्नु होला !! बोर्डको पुछारमा केही मसिनो अक्षरमा लेखिएको थियो ।
उसले यता उति हेर्यो , कुन्तुर संगै रहे को तराजुमा  दुई के.जी. स्याउ तौलियो र एक दर्जन केरा पनि लियो । सुचीमा लेखिए बमोजिम कन्तुरमा  पैसा राखिदिएर उ‌ घरमा आयो । सांझ पख उ टहल्न भनि घरबाट  निस्कियो ।
एकजना तिल चामल रंगको दारी र मैलो टिसर्ट लगाएको अत्यन्त  कमजोर र थकित देखिने मान्छे त्यै बोर्ड झुण्डिएको ठेला घचेट्दै आउंदै थियो ।  ठेलामा एक तमासले हेरेको देखेर ठेलावालाले मुस्कुराउंदै भन्यो बाबु ! "फल-फूल चाहिएर हेर्नु भयो होला , तर सबै सकियो  नि ! "
उसले सोध्यो तपांईको  नाम के हो बा ?   "सीताराम" ठेला वाला ले भन्यो ।
उसले सीताराम लाई चिया खान अनुरोध गर्यो । छेउको पसल बाट चिया आय पछि उसले आफ्नो राम कहानी सुनाउन लाग्यो .....
" बिगत तिन बर्ष देखि मेरी आमा ओच्छ्यान परेकि छन । मेरो उनि र उनको म   बाहेक यो संसार मा अरु कोही छैन ।
 उनि चाहन्छिन म सधैं उनकै छेउमा बसि रहुं । एक दिन उनको पाउमा ढोग्दै मैले भने, आमा यसरी नै नित्य तिम्रो सेवा गर्न मलाई पनि मन छ , तर म व्यापार गर्न नगय हामी आमा छोरा कसो गरि पेट भरौंला ? हाम्रो कुनै आम्दानी छैन ,तिमी घरबाट निस्कनै दिन्नौ !
 उनले भनिन "  बाबु ! तंलाई एकछिन पनि नदेखे मलाई अत्यास लाग्छ । खलखलि पसिना आउंछ ।"
 "उसो भय तिमी नै भन म के गरौं त ?"  मेरो यो प्रश्नले उनि डराएको भावमा थर-थर काम्दै उठने कोशिश गरिन र  भित्ता तिर लडिन । केही बेर पछि उठाएर सिरानीको आड दिएर राखे पछि भनिन - " सिताराम  आज देखि फल-फूल को ठेला उतै छोडेर आउने गर । हाम्रो भाग्यमा रहेछ भने घरमै बसि बसि व्यापार हुन्छ "
मैंले भनें , "आमा के नचाहिंदो कुरा गरेकि तिमिले ?  बिना मालिकको  फल फूल किन्न को आउंछ ? फेरी सबैको मन पनि उस्तै हुंदैन , फल-फूल चोरी भै हाल्छ नि !
उनि भन्न लागिन " भगवान को नाम लिएर फल-फूल किन , भगवान कै नाम लिएर ठेला मा राखिदे , भगवान को नाम लिएर ठेला छोडेर आईज । अरु कुरा म जान्दिन ।"

साढें दुई बर्ष भयो बाबु ! यसरी नै ठेला छोड्यो घरमा आएर आमाको सेवा गरेर बस्ने गरेको । व्यापार राम्रो चलेको छ । आज सम्म बासि माल बेच्नु परेको छैन । सामान लान्छन पैसा राखि दिन्छन । आज सम्म एउटा फल पनि यता उता भयको छैन । बिहान ठेला छोडन जान्छु सांझ लिएर आउंछु ।  कसै कसैले बढि पनि पैसा राखि दिन्छन , कोही आमाको लागी भनेर खाने कुरा पनि राख्छन । अस्ति एकजना डाक्टर ले कार्ड  कन्तुरमा राखेछन , पछाडि लेखेको थियो - " आमा लाई बढी भयो भने मेरो नंबरमा फोन गर्नु । "
अचेल त आमा मलाई उनको छेउ बाट चल्न पनि दिन्नन अनि भन्छिन - " मेरो भगवान ले केही कमि हुन दिदैनन । तेरो फल-फूल मेरो भगवान ले देवदुत मार्फत बेचि दिन्छन । "
बाबु ! आमा बाबुको सेवा गरे भगवान ले पनि साथ दिने रहेछन । सीताराम गै सकेछन तर उ भने टोलाई रहे को थियो ।
                                      -०-

ईश्वर भक्ति
***********
  एउटा छ वर्षिय बालक हरेक दिन बाबु आमा संग भन्थ्यो , मलाई भगवान संग भेट गराई दिनुस न । हुन त  भगवानको विषयमा भने , उसलाई केही थाहा थिएन , मात्र भगवान संग एक पटक भेट गर्ने , उसको प्रवल ईच्छा थियो र थियो, भगवानको साथमा बसेर खाना खाने रहर ।
एक दिन उ घरमा बनेको खाजा, मकै र भटमास लिएर भगवानलाई भेटरै छाडने अठोट मनमा लिएर निस्कियो । जांदै गर्दा घाम डुब्नै लाग्यो , नदी किनारमा एकजना बुढ़ी आमा बसिरहेकि देख्यो उसले । आंखा मा चमक , मायालु मुहार , झलक्क हेर्दा लाग्थ्यो उनि कसैको प्रतिक्षामा थिईन । बालक उनको छेउमै गयर बस्यो , बुढ़ी आमा उसको मुख तिर हेरेर मुसुक्क मुस्कराईन । उसले बोकेर लगेको थैला बाट,  मकै  भटमास निकाल्यो र खान थाल्यो । केही संझे झैं गरेर भन्यो हजुर पनि खानुस न !
उनको अनुहार एक्कासी खुशी ले फुरुंग भयो । एक मुठी मकै भटमास हातमा लिईन , उनलाई यति खुशी लाग्यो कि , त्यो खुशी रुपि आंशु आंखामै अटायन । उनको त्यो आंशु  चाउरिएका गाला भिजाउंदै चिउंडो बाट तप्प तप्प झरिरहेको बालकले हेरि रह्यो  । दुबैले थैलाको सबै खाजा खाए , एक एक अंजुली पानी पिए । दुवै अत्यन्त ख़ुशी र संतुष्ट देखिन्थे ।
यि दुईको आपसी प्रेम देखेर होला , नदि पारी एक बथान चराका हुलले गीत गाउन थाले ,नाच्न थाले । छोटो समयमा एक आपसमा भयको त्यो स्नेह र प्रेम सांच्चै हेर्न लायक थियो ।
जब रात पर्न लाग्यो बालक ति बुढ़ी आमा संग विदा भै घर तिर लाग्यो ।
उ पटक पटक पछाडी फर्कदैं हेर्दै घर तिर गै रहे को थियो । ति बुढी आमा भने एक टक ले उसैलाई हेरि रहे कि थिईन ।
बालक घर पुग्यो । दिउंसो देखि बेपत्ता भयको आफ्नो छोरो सांझ छिप्पिन लाग्दा एक्कासी आंगनमा झुल्किंदा आमा चाहिंले जोड संग अंगालो मारेर चुम्न थालिन । छोरो लाई अत्यन्त प्रसन्न र खुशी देखेर उसलाई यसको कारण सोधिन ।
आमाको प्रश्नमा उसको उत्तर यस्तो थियो -   " आमा....आज मैले  भगवान संगै  बसेर मकै भटमास खायां । तिमीलाई थाहा छ आमा ? भगवान म संग कति खुशी थिए । मेरो मकै भटमास , भगवान र मैले एउटै थैलो बाट झिकेर खायौं ।
भगवान त बुढो रहेछन , आमा ! आज म अत्यंत खुशी छु ।  
उता बुढी आमा पनि आफ्नो घर पुगिन , आज अन्य दिन भन्दा  हंसिलो र उनको मुहारमा देखिएको खुशी ले परिवार का सदस्य हरु आश्चर्य चकित भय । नदि किनारको गोठ रुंग्न गयकि बुढी आमाको यस्तो हंसिलो अनुहार देखे पछि छोरो चाहिंले सोध्यो - " आमा ! सधैं भोकले लखतरान हुने मान्छे आज त फुर्तिनै अर्को छ , यति विघ्न खुशी किन आमा ?
आमा भन्न थालिन - " म जब नदि किनारमा  भोक लागेर एक्लै अताल्लि रहेको थिएं ,  मनमा लाग्यो , ईश्वर ! तिमी यदि छौ भने मेरो भोक शान्त गरिदेउ । मैले तिम्रो पुजा गरें , प्रार्थना पनि गरि रहे को छु । मनमनै  यति सोचे को मात्र थिएं , स्वयं भगवान प्रकट हुनु भयो । अत्यंत प्रेम पुर्वक,  मकै भटमास खुवाउनु भयो । मेरो अनुहारमा निकै बेर हेर्नु भयो । जाने बेला मा म संग जान्छु भनि विदा हुनु भयो । निकै पर पुग्दा सम्म फर्कि फर्कि  मलाईनै हेरि रहनु भयो । तंलाई थाहा छ बाबु ! भगवान त बच्चा जस्तो देखिनु हुन्थ्यो । मित्रवर ! यसैलाई भनिन्छ ईश्वर भक्ति ।
                          -०-

Saturday, May 12, 2018

यात्रा (कविता)
******
सबैको आ-आफ्नै यात्रा,
अनंत काल को यात्रा,
कहिले दौडन्छन
कहिले हांस्छन
कहिले रुन्छन
यात्रा भने जारी छ
निरन्तर ।
यो समयको यात्रा
क्षणभर रोकिने छांटै छैन
लाग्छ यात्रु गयको गयै छन
फर्किएको कतै देखिन्न
यता म सोच्छु
समय पुनः आउंछ होला
तर आउने लक्षण छैन
अतीत को जस्तै ।
यात्राकै क्रममा
धेरै मान्छे भेटिए
धेरै संग कुरा भयो
केही दिन त
लगौंटिया बनियो पनि ,
पुनः बिछोड पनि ।
तै पनि यात्रा रोकिएन
लाग्छ , कहिले रोकिंदैन ।
केवल चेहरा फेरिएको छ
विचार बदलिएको छ
शाशन फेरिएको छ
मात्र सत्ता बदलिएको छ ।
तर अझै केहि  बांकि छ
जुन कहिल्यै बदलिंदैन
पुरानो भित्ता जस्तै
जहां मान्छेहरु थुकी रहन्छन
झरेका छन गिरेका छन
ईमानदारीको  पतन भयको छ,
मानवताको उपहास भयको छ
तर यात्रा निरन्तर छ ।
सुर्य चन्द्र उदाएकै छन
अस्ताई रहेका छन
चराहरु उंडेकै छन
नदि बगेकै छ
घडी आफ्नै गतिमा छ
मान्छे हिंडेकै छन
दम्भ साथैमा बोकेर
रुप रंग नफेरि
व्यवहार नफेरि
नैतिकता नफेरि
मात्र अनुहारमा मुकुण्डो छ
अनि यात्राको स्वरुप भने
सधैं सधैं उस्तै छ
र सधैं उस्तै रहने छ ।
                    -०-

गजल :-

ताई न तुईको कविता देखि,टेन्सन भयो भन्छ
गजल देख्यो कि मुखकुच्च्याई,काईते पो भन्छ

तिरीमिरी हुन्छ पढछ गजल , भन्छ स्तर छैन
बिजुली पानी चढ्दै जांदा,टिप्पणी पनि हान्छ

जब उसको नसा उत्रियो,टिप्पणी मेटि दियो  
जुकरेको खुल्ला मैदान , उस्कै  दाईजो ठान्छ

लेख्न सबलाई छुट छ है , सम्पादक को छ र
तनाव किन लिन्छौ बन्धु ,अबरोध गर्न पाईन्छ

फेसबुकिया कवि हेर , ज्यादै ज्याद्रो हुन्छ
तिमी टाउको ठोक्दै जाउ,कविता ग़ज़ल बन्छ
                             -०-


गजल
*********
मास्टरी  गर्छ  उ नित्य,  कसरी  म  कवि   भनु
दुईचार लाईन कोरैकै भरमा,कसरी म कवि बनु

जागिरे कविता लेख्छ, लेख्यो डाक्टरले पनि
गजल कविता लेख्नेको,  कसरी म खेदो खनु

जुकरको फेसबुक खोल्यो,यति धेरै भय कवि
नेता विद्यार्थी किसान, कस्लाई म कविमा गनु

व्यंग्यबाण ताकेर हान्छ, प्रहार गर्छ  मर्ममा
कुनै कुनै त लाग्दछ, अर्जुनकै हो क्यारे धनु

खांट्टि कवि कुन पो हो,पत्तो पाउन सकिएन
छैन कविको परिभाषा, तिम्रो स्मृतिमा  मनु
                        -०-

Friday, May 4, 2018

वत्स गोत्रको इतिहास
*********************
पौराणिक पृष्भूमि :-
भ्रिगुं, पुलत्स्यं, पुलहं, क्रतुअंगिरिसं तथा
मरीचिं,दक्षमत्रिंच,वशिष्ठं चैव  मानसान्  
              (विष्णु पुराण ५/७)

भ्रिगु, पुलत्स्य, पुलह, क्रतु, अंगिरा, मरीचि, दक्ष, अत्रि तथा वशिष्ठ – यि ब्रह्माका नौ मानस पुत्र लाई  व्रह्माजीले प्रजा उत्पत्ति का कार्य भार सुम्पनु भयो । कालान्तरमा  यिनको संख्या बढेर २६ सम्म भयो भने पुनः बढेर  ५६ भयको हो । यिनै ऋषिहरुको  नाम बाट गोत्र को प्रचलनभै यिनैका वंशज आफ्नो  गोत्र ऋषि संग संबद्ध भयका हुन ।
हरेक गोत्रमा  प्रवर, गण र उनका वंशज(व्राह्मण)हुन्छन । कुनै गोत्रमा  सुयोग्य गोत्रानुयायी ऋषिहरु लाई  गोत्र वर्धन को अधिकार दिईएको देखिन्छ ।
नौ मानस पुत्रमा  सर्वश्रेष्ठ भृगु ऋषि हुन , गोत्रोत्पन्न वत्स ऋषि लाई ,  आफ्नो  गोत्र नाम बाट प्रजा वर्धन को अधिकार प्राप्त भयो । यसरी वत्स गोत्रका  मूल ऋषि भने भृगु हुन ।
भृगुले दिएको सन्तानोत्पन्न अधिकार को प्रयोग गर्दै वत्सले वंश विस्तार गर्ने अभिभारा पाए र सो पुरा  गरे ।
 वत्स गोत्रका पांच प्रवर छन  – भार्गव, च्यवन, आप्रवान, और्व र जमदग्नि । मूल ऋषि भयको कारणले  भृगु नै यिनको गण  मानिन्छन । यिनिहरुको  वंशजमा नेपालमा राणा ,लम्साल ,कुंवर ,दहाल र रुपाखेति हरु हुन ।
 यस बाहेक खराल ,चौहान र  डोटेलि भट्टहरु पनि वत्स गोत्रिय मानिन्छन । भारतमा भने  सोनभदरिया, बछ्गोतिया, बगौछिया, दोनवार, जलेवार, शमसेरिया, हथौरिया, गाणमिश्र, गगटिकैत र दनिसवार आदि  ब्राह्मण  हरु वत्स गोत्रिय हुन ।
लिखित साक्ष्य :-
   ईशाको छैटौं शदीमा अत्यंत विद्वान रहेका महाकवि वाणभट्ट द्वारा रचित ‘हर्षचरितम्’ को प्रारंभमा महाकविले  वत्स गोत्र को पौराणिक इतिहास साक्ष्य को रूपमा  प्रस्तुत गरेका छन । महाकवि वाणभट्ट स्वयं वत्स गोत्रका भयको तथ्य सोही हर्षचरितम्  मा स्पष्ट उल्लेख छ । महाकवि वाणभट्टको  बारे प्रचलित यो श्लोक बाट उनको विद्दता बारे  प्रष्ट हुन्छ ।
          “वाणोच्छिष्टम् जगत सर्वम्”|
अर्थात
 ‘वाण ले छोडेको  जूठो सिता नै  समस्त जगत को साहित्य हो । वाण भट्ट लिखित "हर्षचरितम् "को सुरुवातमै आफ्नो
वत्स गोत्रका शिर्ष व्यक्तित्व वत्स ऋषि को हुन भनि यसरि स्पष्ट पारे का छन ।
      "एक पटक स्वर्गको  देवसभामा सामवेद गायन  है रहंदा दुर्वासा ऋषि र उपमन्यु ऋषिका बिचमा  विवाद उत्पन्न भएछ , विवादका कारण वैदिक रागमा स्वरभंग हुन पुगेपछि   विणा वादक सरस्वतीले हांसो  थाम्न सकिनन  र  खित्का निकालिन । उनको हांसोले दुर्वासाको पारा चढ्यो र श्राप दिई  हाले  " हे  दुर्वुद्धे पापिनी तं  तुरुन्त पृथ्वीमा गै  सामान्य मानव भै  बस् , तेरो लागी स्वर्गमा ठाउं छैन अब ।" दुर्वासाको श्राप सुन्ने बित्तिकै उनि अलाप विलाप गर्दै रुन थालिन । उनका पिता ब्रह्मा जी ले दुर्वासाको कड़ा शव्दमा भर्त्सना गर्दै, सरस्वती लाई भने पुत्री, जे नहुनु थियो आखिर मैं सक्यो , अब धैर्य गर पृथ्वी लोक मा जान विलम्ब नगर बरु तिम्रो सखी सावित्री पनि जाने छिन । पुत्र मुख दर्शन पछि तिमी  श्राप मुक्त हुनेछ्यौ र तिमी तुरुन्त स्वर्गमा आउनेछ्यौ ।
 उनि मर्त्य मण्डल को हिरण्यवाह ( शोण नदी ) को पश्चिम किनार स्थित अत्यन्त रमणीय र हरीयालीले सुशोभित एवं पवित्र स्थान मा पर्ण कुटी बनाई सखी सावित्री का साथ रहन लागिन । (जुन नदी हाल भारतको  गोंडवाना ( शोणभद्रा ) पर्वत श्रृंखला बाट निस्केर बिहार को पटना नजिकै गंगा नदी मा समाहित हुन्छ । )
 निकै वर्ष विते , एक दिन कुटी बाहिर हल्ला कोलाहल सुनियो के रहेछ भनेर बाहिर हेर्न आउंदा हजारौं सैनिक का माझमा घोडामा सवार अत्यन्त वलशाली र सुन्दर युवक संग आंखा जुध्न पुगे । दुबै एक अर्का प्रति मन्त्रमुग्ध भय ।
ति  युवक महर्षि च्यवन महाराज र  शर्यातपुत्री सुकन्या का पुत्र राजकुमार दधिचि रहेछन । उनिहरु विच को त्यो प्रेम संबन्ध , पछि विवाहमा परिणत भयो । उनिहरुले गान्धर्व विवाह गरे र असल पति पत्नीको भुमिका मा खरो उत्रिए । अत्यन्त घनिष्ठता बढन थालेपछि सरस्वती ले आफ्नो वास्तविक परिचय लुकाईनन । लगभग एक बर्ष को संगैको बसाई पछि उनिहरु बाट सारस्वत नामक  एउटा पुत्र  जन्मियो । पुत्र प्राप्ति पछि उनि श्राप मुक्त भईन । पुत्रलाई  " सर्वगुण संपन्न भव : " भन्ने वरदान दिएर उनि स्वर्गमा फर्किइन । यता पत्नी वियोगले विक्षिप्त जस्तै भयका राजकुमार दधीचिले वैराग्य धारण गरि घोर तपस्या गर्ने निधोगरी आफ्नो पुत्रलाई आफ्नो भाईबुहारी अक्षमाला लाई सुम्पियर तपस्याका लागी प्रस्थान गरे । गर्भावस्थाकि अक्षमाला ले पनि " वत्स " नाम गरेको सुन्दर  पुत्रलाई जन्मदिईन । सरस्वती पुत्र  "सारस्वत" र अक्षमाला पुत्र " वत्स " दुबैले माता अक्षमाला को दुध पिएर हुर्कन थाले । दुबैको समान स्याहार सुसार र समान पालन-पोषणका  कारण तथा एक आमाका दुध पिएका कारण सारस्वत एवं वत्स का विच सहोदर भात्रृवत संवन्ध कायम रहन गयो ।
माता सरस्वती को "सर्वगुणसंपन्न" को वरदान पाएका  सारस्वत, संपूर्ण विद्या मा निपुण र पारंगत भय । यस पछि सारस्वत ले  संपूर्ण ज्ञान, कौशल र सारा विद्या आफ्ना भाई वत्समा अन्तर्निहित गरि दिए ।परिणामस्वरूप वत्स  पनि , सरस्वती देवी प्रदत्त  सारा विद्यामा पारंगत हुनपुगे । त्यसैले आज सम्मपनि  वत्सका सन्तान हरु  विद्या आर्जन गर्ने कार्य र वौद्धिक क्षेत्रमा निकै अग्रपंक्तिमा देखिन्छन । "
निकै पछि  वत्स वंश संभूत ऋषिका सन्तानहरुले आफ्नो उपाधि (थर)  ‘वात्स्यायन’ राखेको पाईन्छ । यिनै वत्स वंशीहरु मध्य का वात्स्यायन ऋषि रचित ‘कामसूत्र’ विश्व  प्रसिद्ध छ ।
वत्स वंशमा ठुला ठुला विद्वान हरु ले जन्म लिए ।  जो असाधारण विद्वताले पूर्ण थिए ।
यिनीहरु अन्य ब्राह्मणको  पंक्तिमा बसेर  भोजन गर्दैन थिए ।
          (विवर्जितः जनपंक्त्यः)|
आफ्नो  भोजन स्वयं पकाउंथे  (स्वयंपाकी)|
दान  लिने चलन थिएन , कसै संग याचना गर्दैन थिए ।  (विधूताध्येषनाः)|
स्पष्टवादी तथा निर्भीक शास्त्रीय व्यवस्था दिन सक्ने अधिकारी थिए । कपट-कुटिलता, शेखी गर्नु , छल गर्नु  र धाक लगाउने,  हांक्ने जस्ता कृयाकलाप लाई  निष्क्रिय पापाचार को श्रेणीमा गणना गर्दथे । निःष्णात विद्वान, कवि, वाग्मी तथा नृत्य गीतवाद्य आदि सबै ललित कलामा  निपुण थिए ।
कालक्रममा कलियुगको प्रारम्भमा  वत्स-कुल मा  कुबेर नाम गरेका  तपस्वी विद्वान पैदा भय । जसको  तत्कालीन गुप्तवंशीय नृपगणले चरणकमलवंदना गरेर कहिले  अघाउंदैन  थिए ।

“बभूव वात्स्यायन वंश सम्भ्वोद्विजो जगद्गीतगुणोग्रणी सताम ।
अनेक गुप्ताचित पादपंकजः कुबेरनामांश इवस्वयंबभूवः||”    (वाण भट्ट -कादम्बरी)

कुबेर का चार पुत्र – अच्युत, ईशान, हर र पाशुपत  थिए । पाशुपत को एक पुत्र  अर्थपति थिए , जो महात्मा र ब्राह्मणहरुमा  अग्रगण्य थिए । अर्थपति का एकादश पुत्र भृगु,हंस, शुचि आदि भय । यस मध्यका  अष्टम थिए चित्रभानु  । यिनै  चित्रभानुको  राजदेवी नामधन्य  धर्मपत्नीको गर्भ बाट  एक पुत्र रत्न पैदा भय  जो सुविख्यात  वाण थिए । उनले  वात्स्यायन थर  बदलेर आफ्नो  भट्ट उपाधि राखे र वाणभट्ट बन्न पुगे ।
 यि वाण भट्ट राजा हर्षवर्धन को दरवारका मुख्य सल्लाहकार (भट्ट ) थिए । यस पछि वत्स गोत्रिहरुले आफूंहरु लाई  भट्ट  भन्न थालेको मानिन्छ ।
कालान्तर मा मुगल आततायि हरु को  अन्याय र अत्याचार बाट टाउको जोगाउन बिभिन्न सुरक्षित स्थानको खोजीमा यत्र तत्र छरिने क्रममा हामीहरुका कुल पुर्खा तत्कालिन भारत बर्ष ( हालको ,  अफगानिस्तान, भारत,भुटान, पाकिस्तान, नेपाल र तिव्वत हुंदै कैलाश मानसरोवर वरपर सम्मको भु भाग ) कै दैलेखको दहगाउं मा आई बसोवास गरेको देखिन्छ ।
वत्स गोत्र को भौगोलिक स्थान :-
६०० वर्ष ई.पू. मा वत्स प्रदेश भारतबर्षको अति महत्वपूर्ण १६ प्रदेश मध्य एक थियो ।
वत्स साम्राज्य , गंगा यमुना को संगममा इलाहबाद बाट दक्षिण-पश्चिम दिशामा अवस्थित थियो । वत्स प्रदेशको राजधानी   कौशाम्बी थियो । पाली भाषामा  वत्स  भनिए पनि मगधी भाषामा भने ‘वच्छ’ भनिन्थ्यो । यसैको प्रभाव ले भारतीय  ‘वत्स गोत्रीय’ भूमिहार ब्राह्मण हरु आफूंलाई ‘वछगोतिया’ भन्दछन । छैटौं शताब्दी ई.पू. को सीमांकनका अनुसार वत्स जनपदको  उत्तरमा कोसल, दक्षिणमा  अवंती, पुर्बमा काशी र मगध, तथा पश्चिममा मत्स्य प्रदेश थियो ।
वत्स प्रतिज्ञा :-
 वत्स वंशीहरु आदिकाल देखीनै आफ्नो  वचनबद्धताका लागी विख्यात थिए ।
 वचनबद्धता कायम राख्नकै लागी सुविख्यात वत्स सम्राट ‘आदर्श द्वितीय’ ले “वत्स-प्रतिज्ञा” को प्रथा आरंभ गरेका थिए । यसलाई  एक शपथको रूपमा लिईन्थ्यो । बिस्तारै  "वत्स प्रतिज्ञा" संस्कृति  ह्रास हुदैं गयको देखिन्छ ।
 जस मध्य आफ्नो पदिय  हैसियत र मर्यादामा रही आफ्नो कुलवंशको र वंशका कनिष्ठ सदस्यको रक्षार्थ सबैले समय दिनु पर्ने उल्लेख गरिएको पाईन्छ ।
                ‌         -०-

Thursday, May 3, 2018

गजल
**********
उमेर रहंदा मेहनत अत्यन्त गर्यौ , बुढेस कालमा खाउंला भनेर
नांगै  बसी  सन्तान  सिंगार्यौ , भविष्यमा  खुब  लाउंला  भनेर

आएछ वेला बुढेस कालको , न लाउन पायौ न त टन्न खायौ
तिनै लाई देखाई श्राद्ध गरेथ्थौ , आफूं नि पिण्ड पाउंला भनेर

जिउंदोमा जाउलोले भरेनौ पेट, पाल्न भनेर सन्तान हरु लाई
कमाउन  लाई  बेईमान  गरेनौ  , मरेसि  स्वर्ग  जाउंला  भनेर

झ्याउरेमा उठेन तिम्रा ति खुट्टा , मेलामा जान्थ्यौ नलगाई जुत्ता
संगीले वैंशमा दोहोरी गाउंदा , सांच्यौ स्वर किर्तन गाउंला भनेर

अब आउने छैनन तिम्रा ति लाला , पराईको पिज्जा बानी परेर
सोच्नै सकेनौ तिनका ति कर्तुत , बुढेस कालमा रुवाउला भनेर
                           -०-