ईश्वर भक्ति
***********
एउटा छ वर्षिय बालक हरेक दिन बाबु आमा संग भन्थ्यो , मलाई भगवान संग भेट गराई दिनुस न । हुन त भगवानको विषयमा भने , उसलाई केही थाहा थिएन , मात्र भगवान संग एक पटक भेट गर्ने , उसको प्रवल ईच्छा थियो र थियो, भगवानको साथमा बसेर खाना खाने रहर ।
एक दिन उ घरमा बनेको खाजा, मकै र भटमास लिएर भगवानलाई भेटरै छाडने अठोट मनमा लिएर निस्कियो । जांदै गर्दा घाम डुब्नै लाग्यो , नदी किनारमा एकजना बुढ़ी आमा बसिरहेकि देख्यो उसले । आंखा मा चमक , मायालु मुहार , झलक्क हेर्दा लाग्थ्यो उनि कसैको प्रतिक्षामा थिईन । बालक उनको छेउमै गयर बस्यो , बुढ़ी आमा उसको मुख तिर हेरेर मुसुक्क मुस्कराईन । उसले बोकेर लगेको थैला बाट, मकै भटमास निकाल्यो र खान थाल्यो । केही संझे झैं गरेर भन्यो हजुर पनि खानुस न !
उनको अनुहार एक्कासी खुशी ले फुरुंग भयो । एक मुठी मकै भटमास हातमा लिईन , उनलाई यति खुशी लाग्यो कि , त्यो खुशी रुपि आंशु आंखामै अटायन । उनको त्यो आंशु चाउरिएका गाला भिजाउंदै चिउंडो बाट तप्प तप्प झरिरहेको बालकले हेरि रह्यो । दुबैले थैलाको सबै खाजा खाए , एक एक अंजुली पानी पिए । दुवै अत्यन्त ख़ुशी र संतुष्ट देखिन्थे ।
यि दुईको आपसी प्रेम देखेर होला , नदि पारी एक बथान चराका हुलले गीत गाउन थाले ,नाच्न थाले । छोटो समयमा एक आपसमा भयको त्यो स्नेह र प्रेम सांच्चै हेर्न लायक थियो ।
जब रात पर्न लाग्यो बालक ति बुढ़ी आमा संग विदा भै घर तिर लाग्यो ।
उ पटक पटक पछाडी फर्कदैं हेर्दै घर तिर गै रहे को थियो । ति बुढी आमा भने एक टक ले उसैलाई हेरि रहे कि थिईन ।
बालक घर पुग्यो । दिउंसो देखि बेपत्ता भयको आफ्नो छोरो सांझ छिप्पिन लाग्दा एक्कासी आंगनमा झुल्किंदा आमा चाहिंले जोड संग अंगालो मारेर चुम्न थालिन । छोरो लाई अत्यन्त प्रसन्न र खुशी देखेर उसलाई यसको कारण सोधिन ।
आमाको प्रश्नमा उसको उत्तर यस्तो थियो - " आमा....आज मैले भगवान संगै बसेर मकै भटमास खायां । तिमीलाई थाहा छ आमा ? भगवान म संग कति खुशी थिए । मेरो मकै भटमास , भगवान र मैले एउटै थैलो बाट झिकेर खायौं ।
भगवान त बुढो रहेछन , आमा ! आज म अत्यंत खुशी छु ।
उता बुढी आमा पनि आफ्नो घर पुगिन , आज अन्य दिन भन्दा हंसिलो र उनको मुहारमा देखिएको खुशी ले परिवार का सदस्य हरु आश्चर्य चकित भय । नदि किनारको गोठ रुंग्न गयकि बुढी आमाको यस्तो हंसिलो अनुहार देखे पछि छोरो चाहिंले सोध्यो - " आमा ! सधैं भोकले लखतरान हुने मान्छे आज त फुर्तिनै अर्को छ , यति विघ्न खुशी किन आमा ?
आमा भन्न थालिन - " म जब नदि किनारमा भोक लागेर एक्लै अताल्लि रहेको थिएं , मनमा लाग्यो , ईश्वर ! तिमी यदि छौ भने मेरो भोक शान्त गरिदेउ । मैले तिम्रो पुजा गरें , प्रार्थना पनि गरि रहे को छु । मनमनै यति सोचे को मात्र थिएं , स्वयं भगवान प्रकट हुनु भयो । अत्यंत प्रेम पुर्वक, मकै भटमास खुवाउनु भयो । मेरो अनुहारमा निकै बेर हेर्नु भयो । जाने बेला मा म संग जान्छु भनि विदा हुनु भयो । निकै पर पुग्दा सम्म फर्कि फर्कि मलाईनै हेरि रहनु भयो । तंलाई थाहा छ बाबु ! भगवान त बच्चा जस्तो देखिनु हुन्थ्यो । मित्रवर ! यसैलाई भनिन्छ ईश्वर भक्ति ।
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home