Monday, August 28, 2017

गजल
कमाउने त्यो  कस्तो रहर
दशै दिशा मा त्यसकै रहर

त्यसैका खातिर  दुर्नाम कमायौ
अतृप्त तृष्णा लोभी  रहर

मरेर रित्तै  जानु छ साथी
पैसा र गहना  चाहिने रहर

 इच्छा कमाउने लिएर बस्दा
जुत्ताको माला लाईनें रहर

ईज्जत र मान खस्छन धुलोमा
जिउंदै मरेसरी त्यो कस्तो रहर

संगी र जन्ती  मलामी कमाउ
यदि कमाउने भएमा रहर

गएको शान त आउदैन फेरी
मुखमा नथुकुन यै  गर्नु रहर ।

मरेर एकदिन जानु छ माथी
स्वर्गैमा पुग्ने गर हो रहर ।
२०७४/०५/१२
जमुनापुर









गजल
जता हेर्यो ताकुर माकुर ठुस्स मात्रै देख्छु
पराई को मात्रै होईन आफ्नै उस्तै देख्छु

ईश्वरले हाम्लाई मात्र दिएको यो हांसो
लुक्यो  हांसो रिस रागको हुरी मात्र देख्छु ।

मान्छे बाहेक संसार मा कुनचांहि प्राणी हांस्छ
घम्साघम्सी  झगडा त झिंगाको नि देख्छु

दुई दिनको ज़िन्दगी मा ओठ खोली हांस
तिम्ले हांसि दिए  पछि  संसार खुशी देख्छु  ।
२०७४/०५/१२
जमुनापुर



Wednesday, August 16, 2017

                चुनावी रणनीति
दलको मुख्यालय मा बसेको यसपटक को चुनावी रणनीति संबन्धि छलफलमा निम्न निष्कर्ष निकालियो "  - आगामी पांच वर्षका लागी बाटो,खानेपानि, विद्यालय तथा  सामाजिक सुरक्षा भत्तामा व्यापक रुपमा बजेट विनियोजन  गर्ने , भनि घोषणा पत्रमा उल्लेख गर्ने ।   - सबै निर्वाचन क्षेत्र का संपूर्ण मतदाता का घरमा अनिवार्य रुपमा घरदैलो कार्यक्रम मा पुग्नै पर्ने ।  - अन्त्यमा  उल्लेख भएका बुंदाका भरमा पनि मत नपाईने शंका भएमा आर्थिक चलखेल समेत गर्ने गराउने । यति भयछि "मतदाताले जसरी पनि मत दिनै पर्छ र हाम्रो जीत सुनिश्चित छ । "
  अर्को दलको बैठकले पनि रणनीति पास गर्यो , संयोग ले सवै रणनीति एउटै भय पनि मतदाता संगको अपेक्षा उसको यस्तो रह्यो " सबै ले मत दिने छन जीत सुनिश्चित छ ।"
तेस्रो दलको रणनीति पनि हुवहु एउटै थियो । मतदाता संगको अपेक्षा भने उसले यसरी प्रकट गर्यो "  अब जिताउने हराउने जिम्मा मतदाता को ।"  सबै दलको चुनावी रणनीति एउटै भए पनि अधिकांश मतदाताले भने राजनीतिक दलहरुले  मतदाता संग कस्तो अपेक्षा गरेका थिए  सोहि आधारमा मतदान गरेको बुझियो ।

Tuesday, August 15, 2017

                                                            एक्लो छोरो
” बा  मलाई अलिकति पैसा चाहियो ” कार्यालय जानै लाग्दा अचानक छोराको माग सुनेर उनि झसंग भय । अस्ति भर्खर होईन र २० हजार दिएको ? किन चहियो पैसा ? बाउको प्रश्न नसकिंदै उसले भन्यो के हुन्छ २० हजारले अचेल ? सक्किई सक्यो । उनि मुसुक्क हांसेर भने कति चाहियो ? उसले ५० हजारको कुरा सुनायो । मन मनै भने एउटा छोरो, बाउको कमाई छ र त माग्छ । आफ्नो पालामा स्कूल जांदा खाजा खर्च माग्दा १ रुपैयां पनि नपाएको पिडा संझे  र खल्ति बाट पर्स निकालेर  हेरे  जम्मा १० हजार रहेछ , ल यो लिई राख्नु अरु भरै सम्ममा दिउंला । उनि गाडि चढेर हिंडे ड्यूटी तिर । भरै कताबाट जुटाई दिउं त भनेर के सोचेका थिय झट्ट उनको दिमागमा आईहाल्यो  बनारसीको पान भण्डार । अहिल्ले नै पस्नु पर्यो भनेर गाडि उतै सोझ्याय उनले । कस्तो पान टक्र्याउं साहव ? बनारसी ले सोध्यो । आज ताजा हात्ती छाप पान चाहियो बनारसी भाई , निकै तलतल लागे को छ उनले भने । साहव ! ग्राहक आईपुग्ने बेला भै सकेको छैन , कति चाहिने हो ? भरै सम्ममा जोगाड गरे हुन्न ? ४० बिंडा हो अहिले नै मिलाउ । अघिल्लो महिना को पांच पनि बांकि छ त्यो पनि जोड । अचेल ग्राहक कम छन साहव ! पैसा को अनिकाल छ ।  उनि  रन्किए , लागुपदार्थको कारोबार मा जावो चालिस पनि हुन्न पत्यार लाग्ने कुरा गरन । साहव ! ग्राहक आए जस्तो छ , हजुर गै हाल्नुस म बरु दिउंसो उतै लिएर आउंछु । उनले सहमति जनाए, गाडि स्टार्ट गरेर घुमाउन मात्र लागे का के थिए,   ऐना बाट ग्राहक र बनारसी को छलफल हुन लागेको धमिलो दृष्य देखे । एक्कासि जमिन भासिए जस्तो लाग्यो ,उनलाई  पत्यार लागेन । चस्मा खोलेर हेरे , जसरी हेरे पनि बनारसी को ग्राहक आफ्नै एक्लो  छोरो रहेछ भन्ने कुरामा अब  कुनै संका रहेन ।
                              -०-

                       शहरको घर
तिसौं बर्षको डेराको बसाई पछि आखिर रामप्रसाद ले शहरमा घर किनेरै छाडे ।
भगवान को कृपाले शहरमा आज हाम्रै घर भयो धन्य भगवान यो टुहुरालाई अझै  दया गर्नुहोस् । बुढि आमाले यसो भन्दै भित्तामा रहेको कृष्णजीको तस्वीरमा दुईहात जोडेर नमन गरिन । ठुला ठुला कोठा थिए , त्यस मध्य पनि आमाको लागी छुट्याईएको कोठा झनै ठुलो र सुन्दर थियो । अब यो कुनामा भगवान को मन्दिर बनाउछु, कोठा मा बस्दा कम सकस भयन पुजा गर्न , आमा अत्यन्त ख़ुशी हुंदै भनि रहे कि थिईन । आमा भन्दा बढ़ी ख़ुशी श्रीमती देखिएकि थिईन । भान्सा कोठाको सुन्दरता र साज-सज्जा देखेर ।
४-५ दीन पछि श्रीमान श्रीमती लाई लागेछ, खाना पकाउंदा भान्सा फोहर देखिन थाल्यो,भित्तामा तेल मसला को छिटा परेपछि कोठा  बिग्रने भो, अनि आमाले यसरी संधै सिन्केधुप बालेर पुजा गर्दा छत कालो हुन कतिदीन पो लाग्छ र ? बरु यसो गरौं , भोलि देखि खाना ग्यारेजमा पकाउने गर्नु पर्ला , अनि आमाको पुजा गर्ने ठाउं पनि ग्यारेजकै एउटा कुनामा बनाईदिंउ ।
   त्यस पछि खाना ग्यारेजमा पाक्न थाल्यो, आमाको इच्छा विरूद्ध पुजा स्थान पनि  ग्यारेजमै सारियो । भान्सा र पुजा ग्यारेजमा स्थानांतरण भयपछि भान्सा कोठा र आमाको कोठा निकै फराकिलो र सफा सुघ्घर देखिन थाल्यो । ठुलो अनि आफ्नै घर सरेपछि भने आमालाई छोरा बुहारी को चित्त
सानो हुंदै गयको आभास हुन थाल्यो ।
                          -०-




Saturday, August 12, 2017

                                                                    डाक्टर
मोटर साइकिल दुर्घटनामा सभासदको छोराको टाउको फूटेर गम्भीर भयको  हल्ला एक्कासी शहरभरि फैलियो । क्षणभरमा घाईतेलाई  शहर को नाम चलेको अस्पताल पुर्याईयो , तुरुन्त शल्यक्रिया नगरे ज्यानको खतरा हुने  कुरा इमरजेंसी का डाक्टर द्वारा उद्घघोष भयो । शल्यचिकित्सक अस्पताल मा रहेनछन , फोन गरेर बोलाईयो । ढिलै भयपनि उनि आए । लापरवाही को पनि हद हुन्छ नि , डाक्टरले अस्पताल छाडन पाईन्छ ? घाईते को हो थाहा छ ? आफन्त, शुभचिंतक हरु को ठूलो भिडले अस्पताल परिसरमा पाखुरा सुर्कन थाल्यो । ठेलमठेल गर्दै डाक्टर शल्यक्रिया कक्षमा पुगे , नर्स र अन्य सहयोगी तयारी अवस्थामा  छदै थिय । बाहिर अस्पताल परिसर मा नारा जुलुस चलिरहेको थियो , क्रमस : भिड बढ्ने क्रम चलिरह्यो ।   यस्तै लापर्वाहि का कारण काठमांडूमा केहिदिन यता धेरैको ज्यान गयको र अस्पतालमा तोडफोड र तनावग्रस्त स्थिति  श्रृजना हुनुमा  डाक्टर हरु को यस्तै व्यवहार प्रमुख कारण भयको चर्चा चल्न लाग्यो ।
शल्यचिकित्सक ले अस्पताल छोडेर पेशाको मर्यादा विपरीत कार्यगरेको , सभासद पुत्र गम्भीर हालतमा रहेको र  अस्पताल तनावग्रस्त रहेको खवर लगभग सबै टेलिभिजन का ब्रेकिंग न्यूजमा देखिए । सवै अनलाइन का हेडलाइन मा सोहि खवरले प्राथमिकता पायो । सामाजिक संजाल का वालहरु रंगिन थाले ।  यता डाक्टर ढोकामा आएर सफल शल्यक्रिया भयको र घाईते खतरामुक्त भयको सुनाएर फेरी हिंडे ।
त्यस पछि  भिड क्रमस : पातलिन थाल्यो । नर्स संग सांसद ज्यूले निकै नरम भयर सोध्नु भयो " बिरामीको बिषयमा डाक्टर साहब संग केहि सोध्नु पर्ने सिस्टर " । माफ गर्नु होला ! उहांको छोराको आजबिहान  बस दुर्घटना मा निधन भयको थियो ,  यहां को छोराको शल्यक्रिया का लागी हामीले फोन गरेर उहांलाई आर्यघाट बाट  बोलाएका थियौं , अन्त्येष्टीको काम रोकाएर आउनु भयको थियो , अब सोहि कार्यका लागी उहां उतै जानु भयो । आज डाक्टर साहब सायद आउनु हुन्न होला । नर्स को कुरासुनेर  अस्पतालमा केहि बेर सन्नाटा छायो ।
                           - ०-

Friday, August 11, 2017

फेसबुके सेल्फी

    एका बिहानै आमाले सोध्नुभयो बाबु, बुहारीलाई सारी मन परेन रे ?
चारधाम गयर आउंदा उनलाई आमाले ल्याईदिनु भयको त्यो रातो रंगको  फिक्का पंहेलो पारी भयको सारीको प्रसंग उठाउनु भयो आमाले । होईन आमाले ल्याउनु भा पनि नराम्रो हुन्छ र , किन नलाउनु , मैलै भने । तर कुरो त्यस्तो थिएन । एकपटक लगाएर देखाईदेउ अन्यथा आमाको चित्त दु:खाउन हुन्न । धेरै पटक आग्रह गरें उनिसंग , यसरी निकै लामो मेरो आग्रह पछि उनि सारी लगाउन सहमत  त भईन तर कठिन सर्तमा ।
कोठामा लगाउने  अनि बाहिर भने ननिस्कने , आमालाई बोलाउने जिम्मा मेरै भयो । तर आमालाई बुहारी को सारी अवलोकन गराउने हिम्मत गर्न सकिन मैले ।
भोलीपल्ट अफिसमा काममा मन गयन , कार्यकक्ष, टेबुल, अफिसकोठा जताततै आमा,उनि र सारीमात्र देखे जस्तो लाग्यो मलाई । भारी मन लिएर घर आयां, आंगनको कुर्सी मा आमा निकै खुसी साथ बसेर मेरै बाटो हेरिरहनु भयको रहेछ । म तगारा बाट छिर्ना साथ आमा चिच्याउनु भो " देखिस त बाबु ! बुहारी लाई  कम्ता सुहाएको छ यो सारी ? सेल्फी खिचेर फेसबुक मा राखिछन नि त , मैले पनि लाईक  गरेर  कमेन्ट पनि लेख्दिएं । आमाको  हातको मोबाइल खत्रक्क  भुईंमा खस्यो , सायद खुशी ले चिच्याउंदा होला ।
                       - ०-