Wednesday, November 14, 2018

अमला पुजा
***********
विभिन्न पशु पंक्षी , नदिनाला , बोट बिरुवा , हिमाल , पहाड़ ,चन्द्र , सूर्य लगायत संपूर्ण प्रकृति लाईनै  साक्षत ईश्वरको रुपमा पुजा गर्ने हिन्दु प्रचलन अन्तर्गत  प्रतिहारषष्ठी (छठ) लगत्तै आउने  कार्तिक  शुक्ल पक्षको नवमी तिथि लाई अक्षय नवमी तथा धात्री नवमी भनिन्छ । यस दिन सर्वगुण सम्पन्न अमलाको बृक्षलाई  पुजा गर्ने परम्परा छ ।
       शास्त्रमा अक्षय नवमी लाई निकै  महत्वका साथ वर्णन गरिएको छ । अक्षय नवमीका  दिन गरिएको  पुण्य कहिले पनि  समाप्त नहुने बताईन्छ । यस दिन जुन पनि शुभ कार्य जस्तै  दान, पूजा, भक्ति, सेवा गरिन्छ , त्यस कार्यको  पुण्य कयौं जन्म सम्म पनि प्राप्त हुने विश्वास गरिन्छ ।  यस दिन भुमी ,अन्न , वस्त्र आदि दान गर्नाले ठुलो पुण्य मिल्ने भनाई छ । यसै दिन शास्त्र विरूद्घको कुनै कार्य गरेमा कयौं जन्म सम्म त्यसको दण्ड भोग्नु पर्ने शास्त्रमा उल्लेख छ । त्यसैले अक्षय नवमीका दिन कसैलाई  कष्ट पुग्ने काम गर्नु हुंदैन भनिन्छ ।
यस दिन भगवान कृष्ण वृन्दावन गोकुल  छोडी  मथुरा प्रस्थान गरेका थिए । आजै देखी उनले आफ्नो बाल लीला  त्यागी  कर्तव्य  पथमा  कदम राखेको भनाई बिभिन्न शास्त्रमा उल्लेख गरिएको छ । 
यो पूजा संतान प्राप्ति ,यौवन प्राप्ति  एवम पारिवारिक सुख शान्तिको  उद्देश्यले गर्ने गरिन्छ ।
 अमलाको  वृक्षमा भगवान विष्णु एवं शिव जी को संयुक्त वास हुन्छ भन्ने मान्यता रहिआएको छ ।
कार्तिक शुक्ल नवमीका दिन अमलाको बृक्षलाई गाईको दुध , फूल , अक्षेता , एवं धुप दीपका साथ विधिवत  पुजा गरी सेतो धागोले बांधि १०८ पटक  परिक्रमा गर्दा चिताएको पुग्ने विश्वास गरिन्छ । यस पछि  अमलाकै वृक्षका फेदमा  बसि  भोजन बनाई  ब्राह्मणलाई  खुवाउने र  परिवारका सबै सदस्यले पुर्ब फर्किएर  भोजन गर्ने प्रचलन छ  । शास्त्रमा  बताईएको छ , यसरी अमलाको फेदमा भोजन गर्दाको समयमा  भोजन पात्रमा अमलाको पात खस्यो भने अत्यन्त  शुभ मानिन्छ ।  यसरी भोजन पात्रमा अमलाको पात  खसेको बर्ष कुनै दुःख कष्ट न आउने विश्वास गरिन्छ ।
       धातृ (अमला) वृक्षको  पूजा एवं यसको वृक्ष मुनि  भोजन गर्ने  प्रथाको शुरूआतको श्रेय माता लक्ष्मी लाई  जान्छ । अमला पुजा संबन्धि यो सन्दर्भ उल्लेख छ :-
      एक दिन माता लक्ष्मी पृथ्वीको भ्रमण गर्ने उद्देश्यले बिष्णुलोक बाट निस्किईन । आउंदा आउंदै उनलाई  भगवान  विष्णु एवं शिवको एक साथ  पूजा गर्ने बिचार आयो ।  लक्ष्मीले  विचार गरिन , एक साथ विष्णु एवं शिवको  पूजा कसरी संभव छ र ? तर  तुरुन्तै उनलाई संझना आयो ,अमलामा तुलसी एवं बेलको  दुबै गुण एक साथ पाईन्छ । तुलसी , भगवान विष्णुलाई  प्रिय लाग्छ भने  बेल , शिवजी लाई । त्यसैले दुवैको संयुक्त गुण रहेको अमला  वृक्षलाई  विष्णु एवं  शिवको  प्रतीक स्वरुप  माता लक्ष्मीले  पूजा गर्न लागिन । पूजा बाट प्रसन्न भयर भगवान विष्णु र शिव प्रकट भय । लक्ष्मी माताले अमलाकै  वृक्ष मुनि भोजन बनाई  विष्णु र भगवान शिवलाई  भोजन गराई  स्वयं आफूंले समेत भोजन गरिन । जुन दिन माता लक्ष्मीले यो कार्य संपन्न गरिन त्यो  कार्तिक शुक्ल नवमी तिथिका दिन  थियो । यसै  समय देखी यो  परंपरा चलिआएको मानिन्छ ।
     केही बर्ष अघि सम्म यो परम्परा हाम्रो गाउं घर तिर समेत  देख्न पाईन्थ्यो । वनभोजको प्रारम्भ कार्तिक शुक्ल नवमीकै धातृपुजाका दिन बाट सुरु भयको  मानिन्छ । चरक संहितामा यस दिन अमलाको पुजा गरी अमलाकै फेदमा भोजन गर्न नसकिएमा अमलाको दाना खाए मात्र पनि  च्यवन ऋषिको जस्तो एकपटक क्षय भयको यौवन पुनः प्राप्त हुने विश्वास गरिन्छ ।
यसै दिन अमलाको फेदका जरामा निम्न मंत्रले गाईको दुध द्वारा तर्पण दिंदा  पितृहरु सन्तुष्ट हुन्छन भनिन्छ ।
तर्पण मंत्र :-
पिता पितामहाश्चान्ये अपुत्रा ये च गोत्रिण:।
ते पिबन्तु मया दत्तं धात्रीमूलेक्षयं पय:।।
आब्रह्मस्तम्बपर्यन्तं देवर्षिपितृमानवा:।
ते पिवन्तु मया दत्तं धात्रीमूलेक्षयं पय:।।
                        -०-

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home