Tuesday, September 18, 2018

  कृषि व्यवसायमा पंचगव्यको प्रयोग 
भारतको वनस्पति विज्ञान विभाग र विभिन्न कृषि विश्व विद्यालय हरुले गरेका प्रारम्भिक अनुसन्धान बाट बोट बिरुवामा पंचगव्यको प्रयोग गर्दा उत्साहजनक नतिजा पाईएको बताईएको छ ।
पंचगव्य एक अत्यन्त प्रभावकारी जैविक मलखाद हो ,जसले बोट बिरुवाको  वृद्धि विकासमा  मद्दत गरी तिनिहरुको  प्रतिरक्षा क्षमता लाई  बढ़ाई दिन्छ | पंचगव्यको निर्माण सकेसम्म स्थानिय नश्लको गाईको पांच किसिमका उत्पादनहरु  दूध, दही, घ्यू, गौमूत्र र गोबर बाट बनाईन्छ । स्थानिय नश्लको गाईको सबै उत्पादनहरुमा बोट बिरुवाको लागी आवश्यक  सबै पोषक तत्वहरु  पर्याप्त एवं सन्तुलित मात्रामा  पाईन्छ ।  पंचगव्यको प्रयोग गर्दा  तिन प्रतिशतको झोल बनाई प्रयोग गरिन्छ । पंचगव्य बाट उचित लाभ  लिनका लागी हरेक पन्ध्र - पन्ध्र दिनको अन्तरमा बाली नालीमा प्रयोग गर्नु पर्छ ।
पंचगव्य बाट हुने फाईदाहरु :-
पंचगव्यको नियमित प्रयोगले रोग किरा कम लाग्ने ,  पर्यावरणमा सन्तुलन ल्याउनुको साथै खेती पातीमा अत्याधिक मात्रामा प्रयोगमा आईरहेको रासायनिक मलखाद र विषादिको प्रयोगमा  नियन्त्रण ल्याउन समेत ठूलो भुमिका खेल्दछ भने खेती पातीमा गरिने लगानीमा पनि निकै कमि हुन जान्छ ।
पंचगव्यको प्रयोग बाट बाली नालीको उत्पादनमा एकरुपता , स्वाद र रंगमा प्राकृतिक पन , पौष्टिकतामा  बृध्दि र उत्पादनमा समेत  बढ़ोत्तरी पाईएको छ ।
पंचगव्य बनाउन चाहिने सामाग्री र   विधि :-
वैदिक परम्परा देखि पुजा आजा गर्दा प्रयोगमा ल्याईने गरेको पंचगव्य र कृषि व्यावसायमा प्रयोग गरिने पंचगव्य वास्तवमा एउटै हो । मात्र ,यसमा केही अन्य द्रव्य हरु
थप गरिन्छ ।
आवश्यक सामाग्री :-
१.  ५ किलोग्राम गाईको ताजा गोबर
२.  ३ लिटर  गाईको ताजा गौमूत्र
३. २ लिटर गाईको ताजा दूध ( कांचो )
४. २ लिटर गाईको  दही
५. ५०० ग्राम गाईको घ्यू
६. ३ लिटर उखुको रस वा ५०० ग्राम उखुको सखर ३ लिटर पानीमा घोल बनाउने ।
७. ३ लिटर नरिवलको  पानी ।
८. एक दर्जन पाकेको केरा ( मध्ययम आकारको )
९. १० लिटर पानी ।
बनाउने  विधि :-
१. सबै भन्दा पहिले ५ किलोग्राम गाईको  ताजा गोबर र ५०० ग्राम गाईको घ्यू लाई  माटोको भांडोमा १० लिटर पानी सहित राखि राम्रो संग फिटेर मिश्रण तयार गर्ने ।  माटोको भांडो नपाईएमा प्लास्टिकको बाटा वा वाल्टिन प्रयोगमा ल्याउन सकिन्छ ।
२. यस मिश्रण लाई तिन दिन सम्मका लागी  कुनै रुखको छायांमा मुख बन्द गरी राख्नु पर्दछ । यसरी राखेको मिश्रण लाई दिनको दुई पटक ,सूर्योदय  र सूर्यास्तको समयमा काठको लौरोले घडी घुम्ने दिशामा केही बेर  चलाउनु पर्छ ।
३.  तेस्रो दिन यो मिश्रणमा  ३ लिटर ताजा गौमूत्र, २ लिटर गाईको  दूध, २ लिटर गाईको  दही, ३ लिटर उखुको रस  ३ लिटर नरिवलको पानी तथा एक दर्जन पाकेको  केरा मिसाई राम्रो संग चलाउनु पर्दछ ।
४. यो संपूर्ण मिश्रण लाई १५ दिन सम्म पुनः रुखको छायांमा राख्नु पर्दछ । यसरी राखेको मिश्रण लाई हरेक दिन सूर्योदय र सूर्यास्तको समयमा काठको लौरोले घडि घुम्ने दिशामानै ८-१० पटक चलाई पुनः मुख बन्द गरी दिनु पर्दछ ।
५. यसरी पहिलो पटक राखेको १८ दिन पछि पंचगव्यको मुख्य झोल , बाली नालीमा छर्नको लागी   तयार हुन्छ ।
पंचगव्य कसरी प्रयोग गर्ने ?
अब तयार भयको पंचगव्यको प्रयोग खास गरेर तरकारी , फल-फूल र जुनसुकै अन्न बालिमा पनि  प्रयोग गर्न सकिन्छ ।
पंचगव्यलाई  बिभिन्न बालीको बिभिन्न अबस्थामा यसरी प्रयोग गर्न सकिन्छ ।
१. बिउ उपचार :-
पंचगव्यको ३% को घोलमा  बिउ लाई  १०-१५ मिनेट डुबाएर राख्ने  | यस पछि  आधा घण्टा सम्म बिउलाई  छायांमा सुकाई रोपाईं गर्ने । ३०० मि.ली. पंचगव्यले  ६०  किलो बिउ  उपचार  गर्न पुग्दछ ।
२. जराको उपचार :-
पंचगव्यको  ३% को घोलमा रोपाई गर्ने जुनसुकै बिरुवाको पनि ( अन्न, फल-फूल, तरकारी ) जरा पट्टिको भागलाई १०-१५ मिनेट सम्म‌ डुवाएर आधा घंटा छायांमा ओभाई बिरुवा सार्नु पर्दछ ।
३. पात ,बोट ,फल , फूलमा सिधै छर्ने :-
३% को घोल तैयार गरी बोट बिरुवाको पात,डांठ,फल तथा पुरै बोटमा छर्न सकिन्छ । 
४. सिंचाई गर्दाको समयमा सिथै पानी संग   प्रवाहित गरी :-
पंचगव्यको  ३%को  घोललाई  सिंचाई गरिएको  पानी संग थोपा थोपा गरी प्रवाहित गरी  प्रयोग गर्न सकिन्छ । तिन सय एम.एल  पंचगव्य एक कठ्ठा क्षेत्रफलका लागी  पर्याप्त हुन्छ  |
५. बिउ भंडारण गर्दा :-
बिउ भंडारण गर्नु अघि पंचगव्यको ३% को  घोल बनाई १०-१५  मिनेट  डुबाएर राखी छायांमा  राम्ररी सुकाएर  बन्द भांडोमा  सो बिउ राख्दा ३६० दिन सम्म सुरक्षित पाईएको थियो ‌।
             पंचगव्यको  प्रभाव :-
बिरुवाको पातमा :-
पंचगव्यको प्रयोग गरिएको बिरुवाको पातको आकार ठुला , बिकसित, चम्किला  र निरोगी पाईयो । यसको प्रभाव साग वालीमा तुरुन्त देख्न सकिन्छ ।
बिरुवाको हांगामा प्रभाव :-
हांगाहरु छिटो  विकसित हुने , र बलिया हुने र   परिपक्व हुने समयमा  जब फल लाग्छ , हांगाले फलको वजन सहन गर्ने क्षमतामा बृध्दि भयको पाईएको थियो ।
बिरुवाको जरामा देखिएको प्रभाव :-
जराको विकास अत्याधिक  घना भै बोट मजबूत ,र लामो समय सम्म जरा नबिग्रने भयका कारण बाली अबधि समेत लम्बिएको थियो । जमिनमा भयको पोषक तत्वको भरपूर मात्रामा बिरुवाले ग्रहण गर्ने , पानी अवशोषण गर्ने , अत्याधिक बर्षा, सुख्खा , चिसो समेत सहन गर्न सक्ने हुन्छ र यसको साथै विरुवामा रोग किरा संग लड़ने क्षमतामा समेत बृध्दि हुन्छ ।  
बालिमा सुख्खा नलाग्ने :-
यसको प्रयोगले बिरुवाका पात एवं डांठमा  एक किसिमको  तैलिय पत्र  बन्न जांदा पानी  वाष्पीकरणमा  कमी हुने र  जरा गहिरो र घना हुने कारणले ३० प्रतिशत सम्म सिंचाई कम गरे पनि हुने भयकाले सुख्खा मौसममा बाली नाली लगाउंदा पंचगव्यको प्रयोग निकै लाभदायक मानिन्छ ।                  
पंचगव्यको पशु पक्षिमा प्रयोग:
वाली नाली लाई बाहेक पंचगव्यको प्रयोग माछाको प्राकृतिक आहार बृध्दिका लागी माछा पोखरीमा प्रयोग गरिन्छ भने  , लेयर्स कुखुराको अण्डाको साईजमा र ब्रोईलर कुखुराको मासु बृध्दिका लागी प्रतिदिन प्रति कुखुरा ५ एम.एल का दरले खुवाईन्छ । यसै गरी गाई तथा भैंसी लाई प्रति जनावर २०० एम एल दाना ,चोकर संग खुवाउंदा दुधको परिमाणका साथै दुधको फ्याट समेतमा उल्लेख्य बृध्दि भयको पाईएको छ ।
                 ‌            -०-

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home