माया
********
एक बच्चा लाई आंपको रुख अत्यंत मन पर्दथ्यो । जब फुर्सद हुन्थ्यो उ सोही आंपको फेदमा पुग्थ्यो । रुखमा चढेर निर्धक्क फल टिपेर खान्थ्यो । आंपकै हांगामा यता उति पिंग खेले जसरी खेल्थ्यो । थाके पछि आंपकै छहारीमा बिश्राम लिन्थ्यो ।
त्यो बच्चा र आंपको रुख बिच अचम्म को संबंध स्थापित भयो ।
विस्तारै बच्चाा ठुलो हुंदै गयो , यस पछि उसको आउने क्रम निकै कम हुन थाल्यो ।
रहंदा बस्दा आंपको रुख र त्यस बच्चाको भेट नभयको निकै भै सकेको थियो ।
आंपको रुख भने त्यस बालक लाई याद गर्दै एक्लै रोई रहन्थ्यो तर कसैले पत्तो पाउन्न थियो ।
एक दिन अचानक रुखले त्यस बच्चालाई आफूं भय तिरै आउंदै गरेको देख्यो र नजिकै आए पछि भन्यो ।
" यतिका दिन तिमी कहां गयको थियौ ? मलाई तिम्रो कति संझना आउंथ्यो ,तिमीलाई नसंझेको कुनै दिन थिएन । आउ खेल्न , पहिले अघाउन्जेल फल खाउ ,मेरा हांगामा पिंग खेल । रुखले सबै कुरा एकै साथ भनि सक्यो ।
बच्चाले आंपको रुख़ संग भन्यो , "अब मेरो खेल्ने उमेर कहां रह्यो र ? म त अचेल पढन लाई स्कूल जान्छु , गृहकार्य गर्नु पर्छ ,भोली को लागी पाठ तयारी गर्नु पर्दछ । तर फिस तिर्ने पैसा नभयर म आएको । "
रुखले भन्यो , " मेरो फल टिपेर लैजाउ , बजारमा लगेर बिक्री गर्नु ,आएको पैसाले फिस तिर्नु ।" त्यस बच्चाले सारा आंपको फल टिपेर लग्यो ।
त्यस पछि उ फेरी त्यहां देखा परेन ।
आंपको रुख फेरी पनि उसकै बाटो हेरेर दिन बिताउन थाल्यो । अस्तिनै जस्तै त्यहि बाटो भयर आई पो हाल्छ कि भनि उतै मात्र हेरि रहन्थ्यो । जब झमक्क सांझ पर्दथ्यो , उसको संझनामा आंखा बाट आंशु झारि हाल्थ्यो ।
केही बर्ष पछि एकदिन बिहानै एकजना युवक ( त्यै बच्चा ) आयो , र आंपको रुख संग भन्न लाग्यो -"अब मेरो जागिर भयो , बिहे पनि गरें । घर गृहस्थी जमाउन पर्यो , जागीर को पैसा ले खांदै ठिक हुन्छ ! पैसाको खांचै परेर आएको म त ! "
उसको कुरा सुनेर आंपको रुखलाई उ प्रति दया लाग्यो र आंपको रुख ले भन्यो -" मेरा सबै हांगा बिंगा काटेर बेच्न लैजानु , त्यै पैसा ले घरजम गर्नु । "
उसले कत्ति बांकि नराखी सबै हांगा बिंगा काटेर लग्यो ।
अब आंपको रुख , मात्र ठुटोमा परिणत भयो । बिना हांगा र पातको उराठ लाग्दो ठुटो ।
न उ संग छहारी थियो न फल नै । बाटो हिड्ने बटुवा , चरा चुरुंगी कसैले पनि उसलाई फर्केर पनि हेर्दैन थियो ।
आंपको रुखलाई लाग्थ्यो त्यो बालक / युवक अब कहिले पो आउला र ? अब म संग उसलाई दिने वस्तु पनि केही छैन र उसले लान मिल्ने पनि केही छैन । यस जन्ममा उ संग भेट , सायद हुंदैन होला ।
एक दिन अचानक एउटा अधवैंसे मान्छे आंपको ठुटो ताकेर आयो । उसले आंपको ठुटो संग भन्यो , "शायद मलाई चिन्नु भयन होला , म त्यही बालक हूं जो पटक-पटक तपाईं संग भेट गर्न आउथें र तपाईं मलाई स्वयं सिध्दिने गरी मेरो मदत गर्नु हुन्थ्यो ।
आंपको रुखले दु:खी हुंदै भन्यो -
"तर पुत्र ! अब म संग तिमी लाई मदत गर्न केही पनि छैन । म तिमीलाई कसरी मदत गरुं ? "
अधवैंसेका आंखा रसायर आयो , गला अवरुद्ध भयो ,"आज म तपाईं संग केही लिन भनेर आएको होईन । आज त म तपाईं संग दिन भरी खेल्न चाहान्छु । तपाईंको न्यानो काखमा निदाउन चाहान्छु ।"
यति भनेर उ आंपको ठुटोलाई अंगालो मारेर सुतेको मात्र थियो आश्चर्य भयो ! आंपको ठुटो एक्कासी अंकुरित भयर पलाउन थाल्यो । जब आंप बृक्षले पुरा आकार लियो , अचम्मै भयो !
.........आंपको बृक्षमा बैकुण्ठनाथले नेपालमा रहेका आफ्ना बृद्ध आमा बाबु को अनुहार प्रष्ट संग देख्यो ।
बैकुण्ठनाथ निन्द्रामै कराउन लाग्यो " मैले भने तपाईं हरुलाई कहिले पनि मदत गरिन । हो ! मैले तपाईंहरुको फलले स्कूलमा फिस तिरें , आंफै नांगिएर दिएको पैसाले यहां घरजम गरें । मलाई माफ गर्नुस बा आमा ! "
उ नेपाल नफर्कने गरेर क्यानडा मा स्थायी बसोबास गरेको मान्छे । तर यो सपनाले उसको क्यानडा बसाई लाई क्षणभरमै भताभुंग पारि दियो । अब उ सदाका लागी आफ्नै माता-पिताको काखमा निदाउने आकांक्षा लिएर स-परिवार नेपाल फर्किने निधो गर्यो र मनमनै भन्यो - " बा आमा ! अब म छिट्टै घर आउने छु , तपाईंहरुको मक्किन लागेको त्यो आंपको ठुटो जस्तै शरिरलाई पुनः हराभरा पार्ने छु ।
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home